अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ कहिले औधी मिल्छन् । जहाँ जाँदा पनि उनीहरुको साथ छुट्दैन । कहिले भने ठूलै ठाकठुक पर्छ र हप्तौसम्म बोल्दैनन् । सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो पनि गरिहाल्छन् । तर, फेरि केही दिनमै मिलन भइहाल्छ । यसैले फिल्म क्षेत्रमा उनीहरुलाई प्रेम जोडी भन्ने गरिएको हुनुपर्छ । किनकि, प्रेममा रिसाउन र मिल्न दुवै छुट छ ।
निर्देशक सुदर्शन थापाले फिल्म ‘रामकहानी’ मा पहिलो पटक पूजा र आकाशको जोडी बाँधेका थिए । फिल्म बक्सअफिसमा औसत सावित भए पनि दर्शकले उनीहरुको जोडीलाई निकै मन पराए । त्यसयता यो जोडीले ‘पोइ पर्यो काले, सम्हालिन्छ कहिले मन, सम्झना विर्सना’ जस्ता फिल्ममा एकसाथ काम गरिसकेको छ । म्यूजिक भिडियो पनि सयको आसपासमा गरिसकेका छन् ।
 (1).jpg)
गत हप्ता पूजा र आकाशको जोडी फुटेको खबर मिडियामा छ्यापछ्याप्ती भयो । आफ्नो अपमान गरेको पत्रकार (प्रकाश सुवेदी) सँग आकाशले हात मिलाएको भन्दै पूजाले चित्त दुखाएकी थिइन् । उनले आकाशसँग व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ भन्दै राष्ट्रिय मिडियामा अन्तर्वार्ता समेत दिन भ्याइन् । अब आकाशसँग सहकार्य हुने सम्भावना नरहेको उनको भनाई थियो ।
तर, श्रीमान श्रीमतीको झगडा परालको आगो भनेझैँ पूजा र आकाशको झगडा पनि केही दिनमै साम्य भयो । आकाशले आफू प्रकाश सुवेदीसँग नमिलेको भन्दै पूजालाई सम्झाएपछि उनीहरुबीच मिलन भएको स्रोत बताउँछ । झगडा मिलेपछि यो जोडीले संगीतकार अर्जुन पोखरेलको एक गीतमा अभिनय गरिसकेको छ । चाँडै अरु गीतमा पनि अभिनय गर्ने तयारीमा उनीहरु छन् ।
हालै एक अन्तर्वार्तामा आकाशले पूजासँग सम्बन्ध नविग्रिएको दाबी गरे । उनले भनेका छन्, ‘हामी हरेक दिन बोलिरहेकै हुन्छौं । मिडियामा कसरी बोलचाल बन्द भएको कुरा आयो मलाई थाहा छैन । केही दिनअघि हामी भेटेको तस्विर पनि बाहिर आएको थियो । एकसाथ काम पनि गरिरहेका छौं । बाहिरको हल्लाले गर्दा हाम्रो व्यक्तिगत सम्बन्ध कहिल्यै बिग्रदैन र बिग्रनु पनि हुँदैन ।’
उनले आफू ‘रजतपट’ टिमसँग मिलेर राहत वितरणमा सहभागी नभएको पनि स्पष्ट पारे । ‘म आफ्नै एउटा टिमसँग बाल आश्रमका बालबालिकालाई खाना खुवाउन र सहयोग गर्न गएको थिएँ । त्यहाँ ‘रजतपट’ टिमले पनि सहयोग गर्ने कुरा रहेछ । सहयोग गर्ने क्रममा एकसाथ भएकाले ‘रजतपट’ टिमसँग मिलेको भन्ने देखिएको हुनसक्छ । तर, म आफ्नै टिमसँग गएको थिएँ,’ उनले भने ।

