Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदेश १ मा फिल्मी सिटी बनाउन बराह क्षेत्रको श्रीलंका टप्पु उपयुक्त

फिल्मीखबर, काठमाडौं, 2021/07/13
 
चलचित्र विकास बोर्डको कार्य योजनाअनुरुप छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बराह क्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिबेदन बुझाएको छ । श्रीलंका टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा छायांकन स्थल बनाउन नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापन गरेको छ । 
 
छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिसका आधारमा बराह क्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायांकन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरेर बोर्डलाई पत्र पठाएको थियो । जवाफमा बोर्ड अध्यक्ष दयाराम दाहालले बराह क्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए । सोमबार बराह क्षेत्रका नगर प्रमुख निलम खनाललाई प्रतिबेदन बुझाइएको छ । 
 
प्रतिबेदन हस्तान्तरण गर्दै सम्भाव्यता अध्ययन समितिका सह-संयोजक प्रेम सुब्बाले प्रदेश १ मा जग्गाको उपलब्धता र सुन्दरताको हिसाबले टप्पु क्षेत्र उपयुक्त भएको बताए । त्यस्तै, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले सातै प्रदेशमा बन्न लागेको फिल्म सिटीभन्दा तुलनात्मक हिसाबले प्रदेश १ मा आकर्षक र उपयुक्त स्थान छनोट भएको बताएका छन् । 
 
फिल्मकर्मीसँगको भेटमा नगर प्रमुख निलम खनालले धार्मिक नगरीसँगै बराह क्षेत्र फिल्म नगरी हुनेमा आशावादी रहेको बताए । उनले नगरपालिकाले कार्यविधि निर्माण गरी स्थानीय सरकारले काम अघि बढाउने आश्वासन दिएका छन् । सरकारको सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्ने अभियानअन्तर्गत बराह क्षेत्रलाई छनोट गरी चलचित्र विकास बोर्डले काम अघि बढाएको छ । 
 
चलचित्र विकास बोर्डले गठन गरेको छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले प्रदेश १ का विभिन्न स्थलमा अवलोकन गरी बराह क्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई उपयुक्त स्थानका रुपमा सिफारिस गरेको थियो । समितिले यसअघि प्रदेश र संघीय सरकारलाई उक्त प्रतिबेदन बुझाइसकेको छ । सरकारले सातैवटा प्रदेशमा छायांकन स्थल बनाउन बजेट विनियोजन गरेको छ ।
Most Visited News (monthly)