Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.78/5.00)
Text size:-
+
-

घरको फिल्म धकलेर ‘एक्स ९’ गर्ने तयारीमा अनमोल

फिल्मीखबर, काठमाडौं, 2021/07/12
 
यसमा कुनै दुईमत छैन कि अनमोल केसी अहिलेको समयका नेपाली फिल्मका सबभन्दा विकाउ अभिनेता हुन् । एक समय उनका पिता भुवन केसीको नामैले फिल्म चल्छ भन्ने विश्वास निर्मातामा व्याप्त थियो । ठिक यस्तै विश्वास अहिले अनमोलमाथि गरिन थालिएको छ । उनले फिल्म साइन गरेको कागज देखाएरै निर्माताले छायांकन सुरु हुनुभन्दा अगावै लगानी उठाइसकेका हुन्छन् ।
 
फिल्म ‘होस्टेल’ बाट नायकको रुपमा डेब्यू गरेका अनमोलले आफ्नो करिअरमा ‘जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । फिल्म ‘कृ र क्याप्टेन’ भने अपेक्षाकृत चलेनन् । हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएको भए पनि छोटो समयमा उनले जुन खालको लोकप्रियता र स्टारडम बनाएका छन्, त्यो साँच्चै लोभलाग्दो र उदाहरणीय छ ।
 
उनै, अनमोल फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि घरमै सीमित छन् । दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए उनले यतिबेलासम्म होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो, पारस र माइतीघर २’ मध्ये एक फिल्मको छायांकन भ्याइसकेका हुने थिए । त्यस्तै, ‘ए मेरो हजुर ४’ रिलिजको मुखमा हुन्थ्यो । तर, कोरोनाले गर्दा फिल्म निर्माणदेखि रिलिजसम्म भद्रगोल बनेको छ ।
 
पाइपलाइनमा रहेका फिल्मको छायांकन सुरु नहुँदा अनमोललाई बाहिरी ब्यानरका फिल्म साइन गर्न पनि समस्या भएको छ । लामो समयदेखि निर्देशक मुकुन्द भट्टसँग उनको निरन्तर छलफल भइरहेको छ । ७५ लाख पारिश्रमिकसहित उनलाई फिल्म ‘एक्स ९’ अफर गरिएको छ । उनी फिल्ममा काम गर्न सकारात्मक छन् । दुवै पक्ष साउनभित्र कागजी सम्झौता गर्ने तयारीमा छ ।
 
 
अनमोलले यो फिल्मको छायांकन पूरा गरेपछि मात्र घरको फिल्म (एन्टी हिरो, पारस र माइतीघर २) लाई समय दिने बताइएको छ । तिहारपछि छायांकन सुरु हुने ‘एक्स ९’ का लागि उनले अहिलेदेखि नै शरीर सुगठित बनाउन कडा मिहिनेत गरिरहेको जानकारी प्राप्त छ । फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यसअघि फिल्म ‘कृ’ मा पनि उनी एक्सन भूमिकामा देखिएका थिए । 
 
फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, प्रियंका थापा र राज कटुवाल पनि मुख्य भूमिका रहने निर्देशक भट्टले जनाएका छन् । नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा फिल्मको सुटिङ हुनेछ । निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको जानकारी दिएको छ । तर, उनीसँग कागजी सम्झौता भने भएको छैन ।
Most Visited News (monthly)