Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘आमा बन्न अझै केही वर्ष छ’ : आँचल शर्मा

फिल्मीखबर, काठमाडौं, 2021/07/11
 
अभिनेत्री आँचल शर्मा चाहेर होस् ना नचाहेर समाचारको पात्र बनिरहन्छिन् । केही दिनयता उनी गर्भवती रहेको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । उनी स्वयंले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरुले समाचार छापेका छन् । उनले यस विषयमा स्पष्टिकरण दिँदै फेक न्यूजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् ।
 
उनले शनिवार साँझ इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सी (गर्भवती) को बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ । तर, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’
 
आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने बताएकी छन् । अघिल्लो वर्ष डा. उदिप श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी आँचल निषेधाज्ञाको समयमा ११ दिनसम्म विपश्यनामा बसेकी थिइन् । विपश्यना ध्यान शिविरबाट फर्किएपछि उनले आफूमा धेरै परिवर्तन आएको महशुस गरेकी छन् । आफ्नो सोच्ने र बोल्ने शैलीमा धेरै परिवर्तन आएको उनको भनाई छ ।
 
 
विवाह बन्धनमा बाँधिनुभन्दा अगाडि आँचलले फिल्म ‘झिँगेदाउ’ को छायांकन सकाएकी थिइन् । अब उनी आफैं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । फिल्म निर्देशनको अफर उनले मिलन चाम्सलाई गरेकी छिन् । कोरोना महामारी साम्य भएपछि फिल्मको प्रि-प्रोडक्सनको काम सुरु हुने जानकारी प्राप्त छ । कोरोना महामारी सुरु भएयता आँचलले नयाँ फिल्ममा काम गरेकी छैनन् ।
Most Visited News (monthly)