विगत एक वर्षदेखि मानसिक रोगसँग जुधिरहेकी थिइन्, अभिनेत्री जेनी कुँवर । नियमित औषधी सेवन गर्दै आएकी उनी ६ महिना विपश्यनामा समेत बसेकी थिइन् । तर, डिप्रेसनसँग लड्दा लड्दै उनले आत्महत्याको बाटो रोजेकी छन् । बिहीवार साँझ काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
फिल्मबाट प्रस्ताव आउन छाडेपछि आध्यात्ममा लागेकी उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनले आफू माता सियानाथ रहेको भन्दै यूट्युबमा अन्तर्वार्ता समेत दिँदै आएकी थिइन् । पशुपतिको सम्पदा संरक्षणको कुरा उठाउँदा उनको प्रहरीसँग लफडा पनि भएको थियो । प्रहरीले केही दिन थुनामा राखेर फिल्मकर्मीको रोहवरमा उनलाई छाडेको थियो ।

जेनीले फिल्म ‘जिन्दगानी’ बाट फिल्मी करिअर सुरु गरेकी हुन् । यसमा उनी अभिनेता राजेश हमालको प्रेमिकाको भूमिकामा थिइन् । तर, उनले फिल्ममा आउनुभन्दा अगाडि एउटा नाटकमा अभिनय गरिसकेकी थिइन् । त्यसपछि केही फिल्ममा कोरस डान्सरको रुपमा काम गरिन् । ‘जिन्दगानी’ मा पनि उनी पहिला कोरस डान्सर थिइन् । तर, पछि उनी हमालको जोडी बनिन् ।
गत वर्ष एक अन्तर्वार्तामा उनले आफ्नो करिअरको बारेमा भनेकी थिइन्, ‘म सिधै फिल्ममा आएको होइन । पहिला नाटक गरेको थिएँ । त्यसपछि केही फिल्ममा कोरस डान्सरको रुपमा काम गरेँ । ‘जिन्दगानी’ मा पनि म कोरसको रुपमा थिएँ । तर, निर्देशक उज्जवल घिमिरे सरले मेरो सुन्दरता देखेर फिल्ममा राजेश हमालको गर्लफ्रेन्डको भूमिकामा अभिनय गर्ने अवसर दिनुभयो ।’
अभिनय उनको सौख थियो । तर, परिवारबाट उनलाई फिल्ममा अभिनय गर्न अनुमति थिएन । न त फिल्म क्षेत्रमा उनका कोही आफन्त नै थिए । उनले विगत सम्झँदै भनेकी थिइन्, ‘मेरो घरका कोही फिल्म क्षेत्रमा थिएनन् । मैले फिल्म खेलेको पनि कसैले मन पराउँदैन थिए । मैले परिवारसँग विद्रोह गरेर फिल्ममा आएकी हुँ ।’ उनले ‘घायल र हलचल’ नामक फिल्म पनि बनाएकी छन् ।
तर, फिल्म बनाउँदा हलवाला र वितरकले दिएको सास्ती र यातना उनले कहिल्यै विर्सिएकी थिइनन् । उनी भन्थिन्, ‘मैले विना कसैको सहारा फिल्म बनाएको थिएँ । तर, हलवालाले मलाई धेरै पीडा र यातना दिन्थेँ । आफ्नो पैसा लगाएर बनाएको फिल्म चलाउन हलवालाको खुट्टा ढोग्नु पर्थ्यो । फिल्म चलाउन गुण्डा किन्नु पर्थ्यो । फिल्म क्षेत्रमा जति राजनीति त देशमा पनि हुँदैन ।’
‘मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा काम गरेकी जेनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । लकडाउनको समयमा उनले निर्माण र अभिनय गरेको फिल्म ‘घायल’ को ‘माया गर मायालु’ गीत टिकटकमा हिट भएको थियो । कोरोना महामारी सामान्य भएपछि उनी नयाँ फिल्म बनाउने सोचमा समेत थिइन् ।

