.jpg)
कोरोना महामारीका कारण फिल्म क्षेत्र करीब डेढ वर्षदेखि कोमामा छ । लकडाउनपछि केही फिल्म निर्माण र प्रदर्शन भए पनि फिल्म क्षेत्रले गति लिन सकेन । दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि फेरि अनिश्चितकालका लागि बन्द भएको फिल्म क्षेत्र अब कहिले खुल्छ, कुनै निश्चित छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं कलाकारदेखि प्राविधिकसम्म बेरोजगार भएका छन् ।
कोरोना महामारीपछि फिल्ममै काम गरेर जीविकोपार्जन गर्न गाह्रो हुने सोचाइ प्रायः फिल्मकर्मीमा पलाएको देखिन्छ । यसैले त कोभिडकै बीचमा धेरैले वैकल्पिक व्यवसाय सुरु गरे । कसैले क्याफे खोलेका छन् त कसैले इकमर्स व्यवसायमा हात हालेका छन् । निर्देशक दीवाकर भट्टराई र उनकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईँले पनि वित्तिय सहकारी व्यवसाय सुरु गरेका छन् ।
विहीबार ललितपुर कुमारीपाटीमा हिमालयन बहुउद्देश्यीय सहकारीको आउटलेट शुभारम्भ गरियो । यो सहकारीको म्यानेजमेन्ट टिममा दीवाकर र दीपिका छन् । कोरोना महामारीपछि अन्य व्यवसायलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोचले सहकारी सुरु गरेको दीवाकर बताउँछन् । उनी चाँडै केक बेकरी र क्याफे पनि खोल्ने तयारीमा छन् । जसका लागि उनी ठाउँको खोजीमा छन् ।
वैकल्पिक व्यवसाय सुरु गर्नुको कारणबारे दीवाकर भन्छन्, ‘कोरोनाका कारण फिल्म क्षेत्र डेढ वर्षदेखि बन्द छ । अब कहिले फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किन्छ टुंगो छैन । त्यसैले अन्य व्यवसायलाई पनि अगाडि बढाउनुपर्छ भन्ने लागेर सहकारी सुरु गर्यौं । चाँडै केक बेकरी र क्याफेको आउटलेट पनि सुरु गर्ने तयारीमा छौं । अब फिल्म र व्यवसायलाई एकसाथ लिएर जानेछौं ।’
निषेधाज्ञाभन्दा अगाडि उनी फिल्म ‘तिमीसँगै हुने मन छ’ बनाउने तयारीमा थिए । फिल्मका लागि मुख्य नायकमा अनुबन्ध भएका भारतीय कलाकार रोहित सुचान्तीसहितको टिम नेपाल आइसकेको थियो । भारतबाट छायांकारदेखि कोरियोग्राफरसम्मको टिम पनि नेपाल आउने तयारीमा थियो । तर, कोरोनाको दोस्रो लहर सुरु भएसँगै फिल्मको काम अनिश्चितकालका लागि रोकिएको छ ।

