Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘लाल सलाम’ बनाउने तयारीमा थिए बिशारद, जुन अधुरै रह्यो

फिल्मीखबर, काठमाडौं, 2021/07/04
 
बिशारद बस्नेतले ‘मिस्टर भर्जिन’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका हुन् । दोस्रो फिल्म भने ‘न यता न उता’ हो । दुर्भाग्य ! दुवै फिल्म असफल भए । तर, उनले हार मानेनन् । आफूलाई निर्देशकको रुपमा प्रमाणित गर्न उनी कोरोना महामारीपछि महिला हिंसाविरुद्ध फिल्म ‘लाल सलाम’ निर्देशन र निर्माण गर्ने तयारीमा थिए । तर, अब उनको यो सपना कहिल्यै पूरा नहुने भएको छ ।
 
शुक्रवार उनको कोरोना संक्रमणका कारण निधन भएको छ । सोही साँझ पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरियो । ३९ वर्षका उनको शुक्रबार साँझ साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतमा जन्मिएका उनको बाल्यकाल झारखन्डमा वितेको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका बिशारदका पिता भारतीय रेलमा जागिरे थिए । 
 
उनी ठूलो हुँदासम्म कुन पेशा रोज्ने भन्नेमै दोधार थिए । गत वर्षको डिसेम्बरमा उनले भारतको डेली हन्टसँग कुरा गर्दै भनेका थिए, ‘म कहिले डक्टर, कहिले इन्जिनियर त कहिले आर्मी बन्न चाहन्थेँ । एकै समयमा कयौं जीवन र कयौं भावनालाई अनभुव गर्न चाहन्थेँ । यही कारण मैले कलाकार बन्ने निर्णय लिएँ । पछि कलाकार बन्न कठिन रहेछ भन्ने बुझेपछि मैले प्रशिक्षण लिएको थिएँ ।’ 
 
बिशादरले अभिनयलाई आफ्नो पहिलो प्रेम भन्ने गरेका थिए । उनले ‘सुश्री सम्पति, दुई रुपैयाँ’ लगायतका केही फिल्ममा अभिनय गरेका छन् । उनी कोरोना महामारी साम्य भएपछि भारतको झारखन्डमा एक बेव सिरिज निर्माण गर्ने तयारीमा समेत थिए । त्यसपछि नेपाल आएर ‘लाल सलाम’ बनाउने उनको योजना थियो । तर, कोरोनासँग लड्दा लड्दै उनी अनन्त यात्रामा निस्किए ।
Most Visited News (monthly)