पहिलो चरणको कोरोना महामारी र लकडाउनपछि फिल्म निर्माणमा बाढी नै आयो । हलमा दर्शक आउन डराए पनि निर्माताहरु फिल्म बनाउन डराएनन् । बजारमा फिल्म खिच्न चाहिने उपकरणहरुको हाहाकार नै भएको थियो । तर, दोस्रो चरणको कोरोना महामारीले फेरि फिल्म क्षेत्र थला पार्यो । निषेधाज्ञा हुनुभन्दा अगावैदेखि बन्द रहेको फिल्म क्षेत्र अब कहिले खुल्छ, कुनै टुंगो छैन ।
कोरोनाका कारण कति फिल्म रिलिज हुन पाएका छैनन् भने कति फिल्मको अधुरैमा छायांकन रोकिएको छ । असारदेखि संक्रमण दर घटेको भन्दै सरकारले निषेधाज्ञा विस्तारै खुकुलो बनाउन थालेपछि भकाभक म्यूजिक भिडियोको छायांकन सुरु हुन थालेका छन् । कोरोनाका कारण छायांकन गर्दागर्दै रोकिएका फिल्मको पनि अब सुटिङ सुरु गर्ने तयारीमा निर्माताहरु देखिएका छन् ।
लेखक तथा निर्माता मौनता श्रेष्ठले निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु गरेका थिए । तर, संक्रमण न्यूनिकरणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । अब भने एक हप्ताभित्र फिल्मको छायांकन पुनः सुरु गरिने निर्माता श्रेष्ठले बताए । असार २५ गतेभित्र छायांकन थाल्ने उनको तयारी छ ।
(1).jpg)
हाल धुलिखेलमा रहेका उनले भने, ‘आइतवार म राजधानी फर्किँदैछु । २० गते फिल्मको सम्पूर्ण टिमबीच छलफल हुनेछ । संक्रमण र मौसमले गर्दा अब आउटडोरभन्दा इन्डोर सिन बढी राखेर छायांकन गर्नेछौं । तर, अरु कुनै कुरामा कम्प्रमाइज गरिने छैन । कथामा पनि परिवर्तन हुँदैन ।’ कोरोना संक्रमणलाई मध्यनजर गर्दै सानो टिम लिएर छायांकन सुरु गरिने उनको भनाई छ ।
भदौसम्ममा छायांकन सक्ने उनको योजना छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि छायांकन सुरु गर्न लागेको उनी बताउँछन् । ‘देशको राजनीतिक अवस्था यस्तो छ । कहिले के हुन्छ थाहा हुन्न । अनि कहिलेसम्म फिल्म थन्काएर राख्ने ? फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि कोही न कोही त अगाडि सर्नै पर्छ । त्यसैले सावधानी अपनाएर छायांकन थाल्न लागेका हौं,’ उनले भने ।
मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी लगायत मुख्य भूमिकामा छन् । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण गर्न लागिएको हो ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको ‘आँधी तुफान २’ मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्ने बताइएको छ । फिल्मको कथा निर्माता मौनता श्रेष्ठ आफैंले तयार पारेका हुन् ।

