
गत वर्ष प्रदर्शनमा आएको सुपरहिट मलयालम भाषाको फिल्म ‘अय्यपनम कोशियुम’ को रिमेक बनाउन निर्माताबीच हानाथाप भइरहेको छ । पृथ्वीराज र बीजू मेनन स्टारर फिल्मको हिन्दी, तेलुगू रिमेक बनाउने तयारी चलिरहँदा हिन्दी रिमेकमा अभिषेक बच्चन र जान अब्राहमले अभिनय गर्ने भएका छन् । यसअघि उनीहरुले सुपरहिट फिल्म ‘दोस्ताना’ मा एकसाथ काम गरेका थिए ।
पृथ्वीराजको रोलमा अभिषेक र बीजू मेननको रोलमा जोन देखिने भारतीय मिडियाले बताएका छन् । फिल्मको निर्देशन ‘मिशन मंगल’ फेम्ड डाइरेक्टर जगह शक्तिले गर्नेछन् । फिल्मको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी गरिएको छ । तर, कोरोनाको तेस्रो लहरले यसको निर्धारण गर्नेछ । जोन र अभिषेकले वर्षौंपछि सँगै काम गर्न लागेको खबरले दर्शकमा उत्साह देखिएको छ ।
यस्तै, ‘अय्यपनम कोशियुम’ को तेलुगू रिमेकमा पवन कल्याण र राणा दग्गुबतीको जोडी पक्का भएको छ । यसको रिमेकको एक गीतमा पवन कल्याणले आफ्नो आवाज पनि दिनेछन् । हालै उनी अभिनीत फिल्म ‘वकिल साब’ रिलिज भएको थियो भने राणाको फिल्म ‘हाथी मेरे साथी’ बक्सअफिसमा सफल हुन सकेन । पवन र राणाले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।

