.jpg)
कोरोना महामारीका कारण समस्यामा परेका फिल्मकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ ले अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मान गरेको छ । सोमवार एक कार्यक्रमका बीच उनलाई उक्त उपाधि प्रदान गरिए पनि राहत वितरणका लागि राजधानी बाहिर भएकाले पल सम्मान कार्यक्रममा उपस्थित हुन पाएका थिएनन् ।
मंगलवार एक कार्यक्रमका बीच रजतपट कोशेलीका प्रकाश सुवेदी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले पललाई सात केजीको माला लगाएर सम्मान पत्र प्रदान गरे । गत वर्षदेखि सक्रिय रुपमा सामाजिक कार्यमा लागेका उनले कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गरेका छन् । सोही सामाजिक कामका लागि उनलाई ‘रियल हिरो’ को उपाधि प्रदान गरिएको हो ।
सम्मानपछि उनले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताए । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाई छ । यो सम्मान पाउँदा भावुक भएको बताउँदै उनले सम्मान पाउनका लागि आफूले सामाजिक काम नगरेको बताए । अरुलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेहरुलाई पनि उनले जवाफ दिएका छन् ।
उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।
सोमवार पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यलाई रिहाइको माग गर्दै पलले राज्यको यसप्रकारको व्यवहारले राम्रो काम गर्न चाहनेहरु निरुत्साहित हुने बताए । ‘सरकारले गर्नुपर्ने काम अहिले आम जनताले गरिरहेको छ । बेसहाराहरुका लागि सहारा बनेर काम गरिरहेको हाम्रो टिम नेपालका सदस्यलाई पक्राउ गर्नु अत्यन्त दुःखद कुरा हो । सरकारले लाजमर्दो काम गर्यो,’ उनले भने ।

