अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी एकसाथ उर्लिएर आएको बाढीले इन्द्रावती करिडोरमा वितण्ड मच्चाउँदा मानवीय क्षतिसहित अर्बौं बराबरको क्षति भएको छ । बाढी घरभित्रै परेर सबथोक बगाएपछि त्यहाँका बासिन्दाले सहयोगी दाताबाट प्राप्त खाद्यान्नले बिहान बेलुकाको छाक टारिरहेका छन् भने बर्खायाममा पनि त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
.jpg)
सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मल्हम लगाउन सबैभन्दा अग्रसर कलाकारहरु देखिएका छन् । कसैले सिन्धुबासीलाई सहयोग गर्न सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् भने कसैले व्यक्तिगत रुपमा राहत सामाग्री सहयोग गरेका छन् । बाढीले भत्काएको संरचनाको पुनर्निमार्ण गर्न अभिनेता कृष्ण मल्लको संयोजनमा ‘सिन्धु सहयोग कोष’ समेत स्थापना भएको छ ।
अभिनेत्री वर्षा सिवाकोटीले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गर्न ‘मेलम्ची राहत अभियान’ सुरु गरेकी छिन् । यो अभियानलाई विश्वास गरेर देश र विदेशबाट धेरैले सहयोग गरेको र त्यसलाई पारदर्शी ढंगले सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य रहेको उनले बताएकी छन् । सहयोगी दाताहरुको नाम चाँडै सार्वजनिक गर्ने र सबै विवरण पारदर्शी राख्ने उनको प्रतिबद्धता छ ।
उनले फेसबुकमा लेखेकी छन्, ‘हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तिको असर त्यो क्षेत्रले अबको एक दशकसम्म भोग्ने निश्चित जस्तै छ । एउटा कलाकार हुनुको नाताले मैले पनि त्यहाँ केही गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छु । स्वच्छ मानविय भावनाको हिसाबले सिन्धुबासीको पीडामा मल्हम लगाउन मेरो अभियान सुरु भएको हो ।’
सिन्धुपाल्चोकका बालबालिकाको भविष्य सुरक्षित बनाउन आफू केही योजनामा जुटेको पनि उनले बताएकी छन् । वर्षा अगाडि लेख्छिन्, ‘अहिले सिन्धुपाल्चोकका धेरै बालबालिकाको शैक्षिक सत्र विथोलिएको अवस्था छ । धेरै बालबालिका कोभिड र त्यसपछि प्राकृतिक विपत्तिका कारण अध्ययनबाट विमुख भएका छन् । उनीहरुको भविष्य सुरक्षित बनाउन म केही योजनामा जुटेकी छु ।’

