
अभिनेत्री कंगना रनावत केही दिनयता फिल्म ‘इमरजेन्सी’ का कारण चर्चामा छिन् । उनले हालै इन्स्टाग्राममा मेकअप आर्टिस्टले आफूलाई मेकअप गरिरहेको एक तस्विर पोस्ट गर्दै फिल्मको तयारी सुरु भएको जानकारी दिएकी थिइन् । अब उनले यो फिल्मको निर्देशन पनि आफैंले गर्ने भएकी छिन् । यसअघि उनले फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को निर्देशन गरेकी थिइन् ।
उनले एक एपमा कुराकानी गर्दै भनेकी छन्, ‘फेरि निर्देशनको जिम्मेवारी सम्हाल्न पाउँदा निकै खुसी छु । ‘इमरजेन्सी’ मा एक वर्षसम्म काम गरेपछि मलाई महशुस भयो कि यो फिल्म मभन्दा बाहेक अरुले कसैले निर्देशन गर्न सक्दैन । लेखक रितेश शाहसँग मिलेर यो फिल्म बनाउनेछु । यदी यसका कारण मेरो पाइपलाइनमा रहेको अर्को प्रोजेक्ट छाड्नु परे पनि कुनै फरक पर्दैन ।’
भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई पहिला ‘रिभल्वर रानी’ फेम्ड निर्देशक साई कबीरले निर्देशन गर्ने बताइएको थियो । फिल्ममा कंगनाले इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नेछिन् । उनले यसअघि साउथ फिल्मकी चर्चित अभिनेत्री तथा नेतृ स्वं. जयललिताको बायोपिक फिल्म ‘थलाइवी’ मा पनि काम गरिसकेकी छन् ।

