(2).jpg)
फिल्म ‘कृष्ण लीला र हृदयभरी’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी श्रद्धा क्षेत्री बाढी पीडितलाई सहयोग गर्न घन्टौं हिँडेर लमजुङको दोर्दी पुगेकी छन् । निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई उनले लमजुङको दोर्दी गाउँपालिकामा रहेको हिले बजारमा पुगेर व्यक्तिगत रूपमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी हुन् ।
अत्यन्त कठिन बाटोका कारण प्रायः सहयोग दाताहरुले लमजुङको बेशीसहर तथा भोटेओडारसम्म पुगेर सहयोग दिने गरेका थिए । श्रद्धासहितको टोलीले भने हिँडेरै बाढी पीडितलाई राखिएको अस्थायी बस्तीमा पुगेर सहयोग हस्तान्तरण गर्यो । उनीहरुलाई दोर्दी गाउँपालिकाका प्रमुख ओम बहादुर गुरुङले स्वागत गर्दै बाढी पीडितको पीडामा मल्हम लगाएकोमा धन्यवाद व्यक्त गरे ।
श्रद्धाले हिले बजारका बाढी पीडितको अवस्थाले आफू दुःखी भएको बताइन् । आफूहरुको सानो सहयोगले पीडितको मुहारमा खुसी देख्दा आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनी अब सामाजिक कार्यलाई निरन्तरता दिने सोचमा छिन् । कोरोनाका कारण उनी अभिनीत फिल्म ‘कृष्ण लीला’ प्रदर्शन हुन सकेको छैन । ‘हृदयभरी’ त निर्माणकै क्रममा रोकिएको धेरै भइसकेको छ ।

