
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि रोक लगाएपछि न्यून पारिश्रमिकमा काम गर्ने प्राविधिकहरुलाई दैनिक जीवनयापन गर्न पनि समस्या भएको छ । काम बन्द भएपछि लकडाउनको समयदेखि नै उनीहरुले कोठाभाडा तिर्न नसकेका थिएनन् । निषेधाज्ञापछि त खाद्यान्न अभावले कतिको घरमा चुल्हो समेत बल्न छाडेको थियो ।
पर्दा पछाडिका हिरो मानिने प्राविधिकहरु कोरोनाका कारण समस्यामा रहेको खबर सञ्चारमाध्यममा आउन थालेपछि देश तथा विदेशमा बस्ने फिल्मकर्मीले सहयोग गरिरहेका छन् । कतिले आर्थिक सहयोग गरेका छन् भने कतिले एक महिनासम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । अब फिल्मका प्राविधिकहरुलाई खाद्यान्न अभाव नभएको चलचित्र प्राविधिक संघले बताएको छ ।
कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको जीवनयापनलाई सहज बनाउन अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै फिल्मकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । अबको केही दिनमा दयनीय अवस्थामा रहेका प्राविधिकलाई आर्थिक र खाद्यान्न सहयोग गर्ने उनको तयारी छ ।
स्वस्तिमाले बुधवार फेसबुकमा आफूले चलाएको अभियानमा जोडिएर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै अहिलेको समयलाई ध्यानमा राख्दै फिल्म प्राविधिकहरुको घरमै पुगेर केही रकम र रासन सहयोग गर्न लागेको जानकारी दिएकी छन् । प्राविधिकहरुलाई सहयोग गर्न स्वस्तिमाले चलाएको अभियानमा वर्षा राउतदेखि दीपेन्द्र के. खनालसम्मले सहयोग गरेका छन् ।

