
बलिउडको सुपरहिट फिल्म ‘गदर : एक प्रेम कथा’ रिलिजको २० वर्ष भएको छ । यो ब्लकबस्टर फिल्मलाई लिएर निर्देशक अनिल शर्माले कयौं कुराको खुलासा गरेका छन् । फिल्ममा सनी देओल र अमीषा पटेलको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, यो फिल्मका लागि उनीहरु पहिलो रोजाइ भने थिएनन् । पहिला अरु नै नायक-नायिकालाई फिल्म अफर गरिएको थियो ।
निर्देशक अनिल शर्माले सनी देओलभन्दा पहिला गोविन्दालाई फिल्मका लागि अप्रोच गरेको खुलासा गरेका छन् । त्यसबेला उनी फिल्म ‘महाराजा’ मा काम गरिरहेका थिए । उनलाई त्यहिँ स्क्रिप्ट सुनाइएको थियो । उनलाई फिल्मको कहानी मन परे पनि यो लेभलमा फिल्म बन्न सक्छ भन्ने विश्वास थिएन । किनकि, त्यसबेला पाकिस्तानको जस्तो सेट भारतमा तयार गर्ने तरिका थिएन ।
गोविन्दाले फिल्ममा काम गर्न अस्वीकार गरेपछि निर्देशक शर्माले सनी देओललाई अप्रोच गरेका थिए । उनी भने तुरुन्तै राजी भए । उनले फिल्ममा तारा सिंहको भूमिका सानदार तरिकाले निर्वाह गरेका थिए । त्यस्तै, ‘गदर’ का लागि अमीषाभन्दा अगाडि मुख्य अभिनेत्रीको प्रस्ताव काजोललाई गरिएको थियो । तर, उनले पनि काम गर्न इन्कार गरेपछि फिल्ममा अमीषा भित्रिएकी थिइन् ।

