चलचित्र निर्देशक समाजको पहलमा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग संकलन भएको छ । अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शर्मा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र पत्रकार रघुनाथ सापकोटाबाट प्राप्त ५१ हजार मंगलवार निर्देशक समाजले निशाको परिवारलाई हस्तान्तरण गर्यो ।

चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कार्यसमिति सदस्य देबेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार संघका सचिव रघुनाथ सापकोटाले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ निशाका लागि देश तथा विदेशबाट सहयोग रकम जुटिरहेको छ । नर्भिक अस्पतालले उनको उपचार निःशुल्क गर्ने बताएको छ ।
तीन वर्ष अगाडि भारतमा सवारी दुर्घटनामा परेर निशालाई ‘ब्रेन इञ्जरी’ भएको थियो । लामो समय उनको भारतमा उपचार भए पनि अस्पतालको खर्च धान्न नसक्ने भएपछि परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याएका थिए । उनको नेपालमा पनि केही अस्पतालमा उपचार भएको थियो । तर, स्वास्थ्यमा कुनै सुधार नआएपछि उनी केही महिनादेखि परिवारको रेखदेखमा थिइन् ।
निशाको उपचारमा सबै जायजेथा सकिएपछि उनको परिवारले भैंसेपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएको छ । त्यहाँ उनका माता-पिताले केही थान गाई पालेका छन्, जसको दुध बेचेर हुने आम्दानीले निशाको सामान्य उपचार हुँदै आएको थियो । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनले एक फिल्मसँगै टेलिसिरियल र म्यूजिक भिडियोमा काम गरेकी छन् ।

