
कोरोना महामारीको समयमा छायांकन भएको बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षीत फिल्म ‘बेल बटम’ सिनेमा घरमा नै रिलिज हुने भएको छ । कोरोनाका कारण बन्द भएका सिनेमा हल खुल्ने निश्चित नहुँदा यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा पनि चलेको थियो । तर, निर्माण कम्पनीले सिनेमा हलमा नै फिल्म प्रदर्शन गर्ने औपचारिक घोषणा गरेको छ ।
भारतमा जारी लकडाउनपछि यो फिल्म रिलिज हुनेछ । २७ जुलाईमा फिल्म रिलिज हुने अक्षय कुमार स्वयंले इन्स्टाग्राममार्फत् जानकारी दिएका छन् । फिल्मको रिलिज डेट घोषणा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी मिलेको उनले बताएका छन् । यो फिल्मका लागि १ सय १७ करोड पारिश्रमिक बुझेका उनले निर्माताको आग्रहपछि ३० करोड पारिश्रमिक घटाएको बताइएको छ ।
फिल्मको कहानी वास्तविक घटनामा आधारित छ । असीम अरोडा र परवेज शेखद्वारा लिखित फिल्ममा अक्षयका अलावा वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेन लगायतको पनि मुख्य भूमिका छ । प्लेन हाइज्याकको घटना देखाउने फिल्ममा लारा दत्ता भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन् । फिल्ममा अक्षयले रअ एजेन्टको भूमिका निर्वाह गरेका छन् ।

