
नेपाली फिल्म क्षेत्रमा दबदबा कायम गरेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको एउटा बलियो खब्बा हुन्, जितु नेपाल । यो समुहको पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म उनले अभिनय गरेका छन् । अभिनयसँगै फिल्म निर्माणमा पनि सहकार्य गर्दै आएका जितु अब भने ‘छक्का पञ्जा’ समुहले निर्माण गर्ने नयाँ फिल्ममा दोहोरिने सम्भावना न्यून छ ।
उनले सञ्चालन गर्दै आएको ‘मुन्द्रको कमेडी क्लब’ मा दीपाश्री निरौला अध्यक्षको रुपमा थिइन् । ‘महानायक’ विवादपछि उनको ठाउँमा करिश्मा मानन्धरलाई राखिएपछि ‘छक्का पञ्जा’ समुहभित्र मतभेद सुरु भएको थियो । शोबाट दीपाश्रीलाई हटाउन जितुकै ठूलो भूमिका रहेको निष्कर्ष समुहको छ । यसैको प्रतिसोध साँध्न दीपक-दीपाले पनि जितुलाई समुहबाटै निकालेको चर्चा छ ।
‘छक्का पञ्जा’ समुहले गत वर्ष होलीको छेकोमा सार्वजनिक गरेको ‘धनियाँ के होली’ गीतमा जितु नअट्नुले पनि फिल्म क्षेत्रको एउटा शक्तिशाली समुह विभाजन भएको चर्चालाई बल मिलेको थियो । दीपकराजले नयाँ प्रोजेक्टमा जितु दोहोरिने सम्भावना न्यून रहेको संकेत गरिसकेका छन् । उता जितु नेपालले पनि एक-दुईवटा प्रोजेक्टमा सहकार्य नहुँदैमा सम्बन्ध नबिग्रने बताएका छन् ।
जितुसँग मतभेद रहेको कुरा मंगलवार उनको जन्मदिनको अवसरमा दीपकराजले घुमाउरो शैलीमा स्वीकार गरेका छन् । उनले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोकिए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने उल्लेख गरेका छन् । इश्वरले सधैं उर्जाशील र शृजनशील बनाइरहनु भन्दै दीपकराजले जितुलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएका छन् ।
दुई दशक अगाडिको चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’ मा छोटो भूमिका निर्वाह गर्दै अभिनय करिअर सुरु गरेका जितु नेपाललाई ‘जिरे खुर्सानी’ मा निर्वाह गरेको ‘मुन्द्रे’ चरित्रले ख्याती दिलाएको थियो । यो सिरियल बन्द भएपछि उनले दीपक-दीपासँग मिलेर फिल्ममा काम गर्दै आएका थिए । उनको कमिक टाइमिङ र सेन्स अफ ह्यूमरलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

