
अभिनेता सुशान्त सिंह राजपूतले यो दुनियाँलाई छाडेर गएको सोमवारबाट एक वर्ष भएको छ । आफू बस्दै आएको अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका उनले आफ्नो छोटो करिअरमा एकसेएक उत्कृष्ट र सुपरहिट फिल्म दिएका थिए । उनले आफ्नो करिअरमा कयौं फिल्म छाडेका पनि थिए, जुन पछि दर्शकलाई निकै मनपर्यो । केही फिल्म बक्सअफिसमा सुपरहिट पनि भए ।
यी हुन् सुशान्तले छाडेका ६ फिल्म
रोमियो अकबर वल्टर
सस्पेन्स, थ्रिलर, एक्शन फिल्म ‘रोमियो अकबर वल्टर’ का लागि सबैभन्दा पहिला सुशान्तको नाम फाइनल गरिएको थियो । उनले फिल्मको प्रमोसनका लागि फर्स्ट लुक पनि सुट गरेका थिए तर पछि यो फिल्म जोन अब्राहमलाई मिल्यो । त्यसबेला डेट नभएका कारण उनले यो फिल्म छाडेका थिए । उनले फिल्म छाडेकोमा निर्देशक रबी ग्रेवाल र निर्माता बन्टी वालिया खुसी थिएनन् ।
हाफ गर्लफ्रेन्ड
चेतन भगतको उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ माथि आधारित भएर निर्माण भएको फिल्ममा पनि सबैभन्दा पहिला सुशान्तलाई मुख्य भूमिकामा लिने तयारी भएको थियो । यो कुरा चेतन स्वयंले ट्विट गरेर बताएका थिए । तर, पछि यो फिल्म अभिनेता अर्जुन कपूरको हातमा पर्यो । सुशान्त अर्को फिल्ममा व्यस्त भएकाले ‘हाफ गर्लफ्रेन्ड’ गर्न असमर्थ भएका थिए । यद्यपि, फिल्म पनि चलेन ।
फितूर
सुशान्तले अभिषेक कपूरको फिल्म ‘काई पो छे’ बाट बलिउडमा डेब्यू गरेका थिए । यसपछि अभिषेक आफ्नो नयाँ फिल्म ‘फितूर’ मा पनि सुशान्तलाई लिन चाहन्थे । तर, पछि आदित्य रोय कपूरको प्रवेश भयो । स्क्रिप्ट मन नपरेका कारण सुशान्त आफैंले यो फिल्ममा काम गर्न इन्कार गरेका थिए । यद्यपि, पछि अभिषेक र सुशान्तले फिल्म ‘केदारनाथ’ मा एकसाथ काम गरेका थिए ।
गोलियो की रासलीला राम-लीला, बाजीराव मस्तानी र पद्मावत
सुशान्त सिंह राजपूतको निधनपछि बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्सालीसँग प्रहरीले सोधपुछ गरेको थियो । त्यसबेला उनले सुशान्तलाई आफूले तीन फिल्म ‘गोलियो की रासलीला राम-लीला, बाजीराव मस्तानी र पद्मावत’ अफर गरेको खुलासा गरेका थिए । यी तीनै फिल्म सुशान्तले समय व्यस्तताका कारण छाडेका थिए । पछि यी फिल्ममा अभिनेता रणवीर सिंहले काम गरे ।

