.jpg)
दुःखमा परेको व्यक्तिलाई सहयोग गर्न नेपालीहरु सधैं एकजुट हुने गर्दछन् । जीवन र मृत्यसँग जुधिरहेकी अभिनेत्री निशा घिमिरेका लागि देश तथा विदेशबाट जुटिरहेको सहयोगले पनि यो कुरालाई पुष्टि गर्छ । तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको समयमा सवारी दुर्घटनामा परेर ब्रेन इञ्जुरी भएकी उनको बिहीवारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् । निशा अस्पताल भर्ना भएपछि फिल्मकर्मीहरुबाट सहयोग रकम जुटिरहेको छ । आइतवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले उनलाई ५१ हजार प्रदान गरेको छ भने करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेल लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।
यसैक्रममा, अभिनेत्री आँचल शर्माले निशालाई एक लाख सहयोग गर्ने भएकी छन् । आइतवार उनलाई भेट्न अस्पताल पुगेकी आँचलले आउँदो शनिवार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । उनले निशालाई भेट्दा आफू भावुक भएको बताएकी छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
दुर्घटनामा परेपछि निशाको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । उनको करीब ६ महिना ट्रमा सेन्टरमा पनि उपचार भएको थियो । तर, कोभिडपछि उनी घरमै परिवारको रेखदेखमा थिइन् । उनले फिल्म 'मधेशीपुत्र २' सँगै केही टेलिसिरियल र म्यूजिक भिडियोमा काम गरेकी छन् ।

