
अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषको तर्फबाट ५१ हजार प्रदान गरिने भएको छ । आर्थिक अभावका कारण उनको उपचार गर्न परिवारलाई समस्या भएको खबर सुनेपछि कोषको समितिले उनलाई सहयोग स्वरुप उक्त रकम प्रदान गर्न लागेको हो । कोषले समस्यामा परेका चलचित्रकर्मीलाई आर्थिक सहयोग गर्दै आएको छ ।
अभिनय कोर्स पढ्न तीन वर्षअघि भारत गएको दुई महिनामा निशा गाडी दुर्घटनामा परेकी थिइन् । उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि निशाको परिवारले उनलाई नेपाल ल्याएका थिए । काठमाडौंको ट्रमा सेन्टरमा तीन महिनासम्म उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि उनको विभिन्न थेरापी सेन्टरमा थेरापी गरिएको थियो ।
उनको उपचारमा परिवारको तीस लाखभन्दा बढी खर्च भइसकेको छ । उपचारकै क्रममा कोरोना महामारी सुरु भएपछि निशा घरमै परिवारको रेखदेखमा थिइन् । अहिले उनको शरीर सुकेर दाउरो भइसकेको छ । न बोल्न सक्छिन् न हिँड्न । केही दिनदेखि उनका तस्विरहरु सामाजिक सञ्जालमा छाप्तछाप्ती भएका छन् । उनको अवस्था देखेर धेरैले सहयोगी हात अगाडि बढाएका छन् ।
आर्थिक अभावका कारण निशाको परिवारले उनलाई पुनः अस्पताल भर्ना गर्न सकेको थिएन । बिहीवारदेखि भने उनको नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु भएको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेकी हुन् । उनको अवस्थामा सुधार आउनेमा चिकित्सकहरु विश्वस्त छन् । पुनः उपचार सुरु भएपछि निशाको मुहारमा पनि खुसी देखिएको छ ।
निशाले एक नेपाली फिल्ममा अभिनय गरेकी छन् । फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिसिरियलसँगै तीन दर्जन बढी म्यूजिक भिडियोमा पनि काम गरेकी छन् । उनको अहिलेको कारुणीक तस्विर हेरेपछि हरेकले उनको स्वास्थ्य लाभको कामना गरेका छन् र उनलाई उद्दार गर्ने मेघा चौधरीलाई धन्यवाद दिएका छन् ।

