Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरहराको बार्दलीमा हमालले मनाए जन्मदिन, असाहयलाई बाँडे राहत

फिल्मीखबर, काठमाडौं, 2021/06/10
बुधवारबाट ५७ वर्षमा टेकेका अभिनेता राजेश हमालले यसपटक आफ्नो जन्मदिन विशेष तरिकाले मनाएका छन् । मंगलवार र बुधवार गरी आधा दर्जन केक काटेका उनले बुधवार नवनिर्मित धरहरामा पुगेर समेत बर्थ-डे केक काट्न भ्याए । दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको बार्दलीमा बसेर उनले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काटेका हुन् ।  
 
 
उनले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउन त्यहाँ पुगेर जन्मदिनको केक काटेको बताइएको छ । उनी बुधवार बिहानै श्रीमतीको साथमा पशुपतिनाथ दर्शनका लागि पुगेका थिए । पशुपतिनाथको दर्शनपछि उनले त्यस क्षेत्रमा आश्रय लिएर बसेका असाहयहरुलाई खाद्यान्न बाँडे । त्यसबेला उनीसँग तस्विर खिच्न सुरक्षाकर्मीबीच नै हानाथाप भएको थियो ।
 
स्वम्भुनाथमा कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि राहत बाँडेका हमालले राजधानीको एक स्कूलमा बर्थ-डे केक काट्दै त्यहाँका विद्यार्थीहरुको हौसला बढाउन नाचगान समेत गरेका थिए । साँझ श्रीमतीसहित केही नजिकका व्यक्तिहरुसँग घरमै बर्थ-डे सेलिब्रेसन गरेका हमाललाई सामाजिक सञ्जालमा शुभचिन्तकदेखि फिल्मकर्मीहरुले जन्मदिनको शुभकामना दिएका छन् ।
 
२०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका राजेश हमालले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनय करिअर सुरु गरेका हुन् । दुई दशक नेपाली फिल्ममा एकछत्र आफ्नो वर्चश्व कायम गरेका उनलाई दर्शकले ‘महानायक’ को रुपमा सम्बोधन गर्ने गर्दछन् । उनी चाँडै फिल्म ‘सत्यम्’ मा काम गर्ने तयारीमा छन् । 
 

Most Visited News (monthly)