Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

अभिनेत्री निशा घिमिरेको अवस्था नाजुक, सहयोग माग्दै परिवार

फिल्मीखबर, काठमाडौं, 2021/06/10
मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् । 
 
डिप्लोमा गर्न भारत पुगेको केही समयमा नै उनी सवारी दुर्घटनामा परिन् । जसका कारण उनलाई ब्रेन ह्यामरेज भयो । लामो समय उनको भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपाली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्चमा परिवारले निशालाई एम्बुलेन्समा राखेर नेपाल ल्याए । 
 
 
उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा । उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँखा रसाउँछ ।  
 
केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइरल भएका छन् । उनको अवस्था देखेर सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले उनको पितालाई १० हजार सहयोग गर्‍यो । भेटमा उनका पिताले सहयोगका लागि आग्रह गरेको शानले बताए । निशाको अवस्था देख्दा आफू भावुक भएको उनी बताउँछन् ।
 
निशाले एक नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् । निशालाई सहयोग गर्न चाहनेले उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ मा फोन गर्न सक्ने निर्देशक थापाले बताए ।
Most Visited News (monthly)