Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक साताभित्र फिल्मकर्मीलाई खोप उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

फिल्मीखबर, काठमाडौं, 2021/06/09
 
चलचित्र विकास बोर्डका सदस्य तथा अभिनेता राज कटुवालले गत शुक्रवार स्वास्थ्य मन्त्रालयमा तीन हजार फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । तर, सोही साँझ स्वास्थ्य मन्त्री हेरफेर भएपछि बुधवार बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राजले नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग पनि भेट गरेर खोपको माग गरेका छन् ।
 
फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक रहेको बोर्ड सदस्य कटुवालले बताए । मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनको भनाई छ । ‘बोर्डले तीन हजार खोप माग गरेको हो । त्यसमा थपघट हुनसक्छ । एक हप्ताभित्र फिल्मकर्मीले कोभिड खोप पाउनेमा बोर्ड पूर्ण विश्वस्त छ,’ उनले भने ।
 
कोरोनाले सबैभन्दा प्रभावित फिल्म क्षेत्र भएकाले सरकारले खोपको प्राथमिकतामा फिल्मकर्मीलाई पनि राख्नुपर्ने उनको भनाई छ । राज भन्छन्, ‘फिल्मकर्मी सुरक्षित भएपछि फिल्मका गतिविधि सुचारु हुने हुन् । यसका लागि खोप लगाउन आवश्यक छ । खोप लगाएपछि फिल्म सम्बन्धि गतिविधि पनि सुरु हुनेछ । त्यसैले फिल्मकर्मीहरुलाई खोप उपलब्ध गराउन बोर्डले पहल गरेको हुँ ।’
 
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । जसले गर्दा चैतपछि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि फिल्म निर्माण र प्रदर्शन सहज रुपमा अगाडि बढाउन अहिलेदेखि नै फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक छ ।
Most Visited News (monthly)