Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

५७ वर्षका भए राजेश हमाल, यी हुन् उनका मनपर्ने फिल्म

फिल्मीखबर, काठमाडौं, 2021/06/08
बच्चादेखि वृद्धसम्म सबैले चिनेको र सुनेको नाम हो, राजेश हमाल । ३० वर्षे आफ्नो करिअरमा झन्डै तीन सय फिल्ममा काम गरेका उनले गाउँलेदेखि शहरीया, डनदेखि लभर ब्वाई हरेक प्रकारका भूमिका निर्वाह गरेका छन् । यसकारण पनि उनले फिल्ममा निर्वाह गरेको भूमिकामा दर्शकले आफूलाई महशुस गर्दथे । नेपाली फिल्मलाई यहाँसम्म ल्याउनमा उनको ठूलो देन छ ।
 
उनै, हमाल मंगलवारबाट ५७ वर्षका भएका छन् । २०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा ‘सुपरस्टार र महानायक’ को रुपमा सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिनेको ओहिरो लागेको छ । कोरोनाका कारण उनले यसपटकको जन्मदिन परिवारका सदस्यहरुसँग मनाउँदैछन् । 
 
जुन समयमा राजेश हमालले फिल्ममा प्रवेश गर्ने निर्णय गरेका थिए, त्यसबेला नेपालमा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्म क्षेत्रमा करिअर खोज्नु मुर्खता मानिथ्यो । यो क्षेत्रमा कसैले भविष्य नै देखेका थिएनन् । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेशमा गरेका उनी तीन दशकमा नेपाली फिल्मका सर्वाधिक लोकप्रिय अभिनेता मात्र बनेनन्, ‘हिरो’ को पयार्य नै बने । 
 
 
२०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनेताको रुपमा डेब्यू गरेका हमालले यसपछि करिअर फर्केर हेर्नु परेन । उनी अभिनीत ‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘भाउजु’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत दर्जनौं फिल्म हिट छन् । उनका फिल्मले धेरै निर्माता धनी बनाएका छन् । एक समय उनको टाउको पोस्टरमा राखे मात्रै पनि फिल्म ब्लकबस्टर हुन्थे । 
 
तर, करिअरको उत्कर्षमा रहँदा उनले संख्यात्मक अभिनयमा जोड दिएको आरोप अझै पनि लाग्ने गरेको छ । किनकि, उनले अभिनय गरेका फिल्ममध्ये सम्झनलायक थोरै मात्र छन् । उनलाई भने आफू अभिनीत ‘बसन्ती’ र ‘देवता’ फिल्म मनपर्छ । तर, रोचक कुरा के छ भने नेपाली फिल्ममा उनका मनपर्ने अभिनेत्री र निर्देशक कोही छैनन् । यो कुरा उनी आफैंले बताएका हुन् ।
 
‘बौद्धिक नायक’ को रुपमा चिनिने उनले कक्षा ८ सम्मको शिक्षा काठमाडौंको सेन्ट जेभियर स्कूलबाट, विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् १९८६ मा काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका हमालले कुनै समय एक वर्षमा १० देखि १२ वटासम्म फिल्ममा अभिनय गरेको रेकर्ड छ ।
 
उनको रिल लाइफसँगै लभ लाइफ पनि निकै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह गर्न ढिलाई गर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले वाक्कदिक्क हुने गरेका अभिनेता हमाल केही वर्षयता पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् । 
 
पछिल्ला दुई फिल्म ‘बागमती र सकुन्तला’ को असफलतापछि चार वर्ष फिल्ममा काम नगरेका उनी चाँडै अभिनयमा कमब्याक गर्ने तयारीमा छन् । निषेधाज्ञा अगाडि उनले फिल्म ‘सत्यम्’ साइन गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु नभएको भए फिल्मको छायांकन पूरा भइसकेको हुने थियो । अहिले उनी घरमै बसेर फिल्मका लागि आफ्नो गेटअप परिवर्तनमा मिहिनेत गरिरहेका छन् ।
 
५७ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा नायक राजेश हमाललाई जन्मदिनको हार्दिक शुभकामना । 
Most Visited News (monthly)