Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म प्राविधिकका लागि छुट्टै अस्पतालको आवश्यकता देखियो : अध्यक्ष लामा

फिल्मीखबर, काठमाडौं, 2021/06/06
 
कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त छ । संक्रमणका कारण मानिसहरुको जनजीवन अत्यन्त कष्टकर भएको छ भने विभिन्न क्षेत्र बन्द हुँदा अगन्य मात्रामा बेरोजगारी बढेको छ । यतिबेला फिल्म क्षेत्रको अवस्था पनि विकराल छ । निषेधाज्ञाभन्दा अगावैदेखि फिल्म निर्माण र प्रदर्शनमा सरकारले रोक लगाएको थियो । अब कहिले खुल्छ, यसै भन्न सकिने अवस्था छैन ।
 
फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा सबैभन्दा बढी समस्यामा प्राविधिकहरु परेका छन् । दैनिक फिल्ममा श्रम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरु निषेधाज्ञापछि घरभित्रै सीमित छन् । जसले गर्दा प्रायः प्राविधिकको घरमा चुल्हो समेत बल्न छाडेको छ । फिल्म निर्माणका मेरुदण्ड मानिने प्राविधिकहरु समस्यामा परेको खबर सुनेपछि फिल्मकर्मीहरुबाट सहयोग जुटिरहेको छ ।
 
यसैक्रममा, शनिवार २ सय ५० जना प्राविधिकलाई खाद्यान्न वितरण गरिएको छ । ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट, नव-नायक नविन लम्साल लगायतको सहयोगमा चामल, दाल, तेल, नुन लगायतका दैनिक उपभोग्य सामाग्री बाँडिएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । समस्यामा परेका प्राविधिकहरुलाई एक चरण सहयोग गरिसकेको उनको भनाई छ ।
 
प्राविधिक संघका अध्यक्ष लामाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म क्षेत्रका विभिन्न विषय समेटिए पनि प्राविधिकहरुलाई बचाउन कुनै खालको सम्बोधन नभएकोमा गुनासो पोखेका छन् । अहिलेको अवस्थामा प्राविधिकहरुको दैनिक जीवनयापनलाई सहज बनाउन आवश्यक रहेको बताउँदै उनले प्राविधिकहरुको उपचारका लागि छुट्टै अस्पतालको समेत माग गरेका छन् ।
 
उनी भन्छन्, ‘दुई चरणको कोरोना महामारीपछि प्राविधिकहरुको उपचारका लागि छुट्टै अस्पताल बनाउनु पर्ने आवश्यकता देखिएको छ । प्राविधिकहरुको उपचारका लागि कति अस्पतालमा ५० प्रतिशत छुट दिनु पर्‍यो भन्दै पहल गर्ने ? आफ्नै अस्पताल भयो भने उपचार गराउन त समस्या हुँदैन । अर्को बजेटमा ‘प्राविधिक अस्पताल’ बनाउनका लागि बजेट छुट्याउन माग गर्दछौं ।’
Most Visited News (monthly)