Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र दिनेशबीच फेरि हुँदैछ टिमअप ?

फिल्मीखबर, काठमाण्डौ, 2021/06/06
लभस्टोरी फिल्ममा आर्यन सिग्देल जति अरु अभिनेतालाई फिट मानिँदैन । ‘किस्मत, मेरो एउटा साथी छ, कसले चोर्‍यो मेरो मन, कोही मेरो, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा उनले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । उनले केही फिल्म आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिरको पनि गरे । तर, दर्शकले उनलाई लभर ब्वाईभन्दा बाहेकको भूमिकामा पटक्कै रुचाएनन् । 
 
निर्देशक दिनेश राउतले पनि लभस्टोरी फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । ‘नोभेम्बर रेन र क्लासिक’ मा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । फरक विषयवस्तुमा बनेको ‘प्रसाद’ मा पनि उनले प्रेमकथालाई मनछुने ढंगबाट उनेका थिए । दिनेश र आर्यनको ‘कम्फर्ट जोन’ लभस्टोरी जनरा भएकाले एक समय फिल्ममा उनीहरुको जोडी राम्रै जमेको थियो ।
 
 
निर्देशक राउत आफूले निर्देशन गर्ने फिल्ममा आर्यनबाहेक अरु रोज्दैन थिए । आर्यन पनि दिनेशको फिल्म भनेपछि आँखा चिम्लिएर साइन गर्थे । फिल्म क्षेत्रमा उनीहरुको मित्रतालाई उदाहरणको रुपमा समेत लिने गरिन्थ्यो । तर, रंगीन दुनियाँमा दुश्मनी र मित्रता धेरै समय टिक्दैन भन्ने गरिन्छ । एक फिल्मको शिलशिलामा आर्यन र दिनेशको सम्बन्धमा पनि तिक्तता उत्पन्न भयो ।
 
आर्यनसँग सम्बन्ध विग्रिएपछि दिनेशले हरेक नयाँ फिल्ममा फरक-फरक अभिनेतासँग काम गरेका छन् । ‘पर्व’ मा कोशिश क्षेत्री, ‘प्रसाद’ मा विपिन कार्की र हालै छायांकन सकिएको फिल्म ‘प्रकाश’ मा प्रदीप खड्कालाई उनले एक्सन कट गरे । तर, आर्यनसँग उनको टिमअप हुन सकेको छैन । यद्यपि, दुवैले आफूहरुको सम्बन्धमा दरार आएको कुरालाई अफवाह बताउँदै आएका छन् । 
 
आर्यन र दिनेशबीच राम्रो सम्बन्ध नभएको चर्चा चलिरहँदा केही दिनअघि उनीहरुबीच भेटघाट भएको छ । निर्देशक राउतसँग भेट भएको एक तस्विर आर्यनले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । यो भेट फिल्ममा टिमअपका लागि हुनसक्ने अनुमान गरिएको छ । तर, दुवैले भेटबारे बोलेका छैनन् । उनीहरुबीच पुनः टिमअप भएको खण्डमा दर्शकका लागि पनि खुसीको खबर हुनेछ । 
Most Visited News (monthly)