Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाले थालिन् अभियान

फिल्मीखबर, काठमाडौं, 2021/06/03
कोरोनाका कारण अति प्रभावित क्षेत्रमा पर्छ, फिल्म क्षेत्र । करीब डेढ वर्षदेखि फिल्म क्षेत्र लकडाउनमा छ । यसपालीको दशैंपछि केही मात्रा फिल्म निर्माण र प्रदर्शन भए पनि फिल्म क्षेत्र पुरानै गतिमा फर्किन भने सकेन । दोस्रो चरणको कोरोना महामारीले त फिल्म क्षेत्र डामाडोल नै भएको छ । अब महामारी साम्य नभएसम्म फिल्म क्षेत्र पुनः सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ ।
 
कोरोना भाइरस र निषेधाज्ञाका कारण फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा सबैभन्दा बढी समस्यामा प्राविधिकहरु परेका छन् । थोरै पारिश्रमिकमा फिल्ममा काम गर्ने उनीहरुलाई यतिबेला बिहान-बेलुका हातमुख जोर्न समेत समस्या भएको छ भने महिनौंदेखि घरभाडा तिर्न सकेका छैनन् । यस्तो अवस्थामा प्राविधिकहरुको पीडामा मलहम लगाउन फिल्मकर्मीले सहयोग गर्न थालेका छन् ।
 
यसैक्रममा, अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् । बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले कोरोनाका कारण कामविहीन भएर समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी छन् । उनले जारी गरेको भिडियोपछि धेरैले प्राविधिकहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 
 
 
उनले भिडियोमा भनेकी छन्, ‘यतिबेला हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा फिल्म इन्डस्ट्री पर्न सकेको छैन । कोरोनाका कारण अहिले फिल्महरु बनिरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा फिल्ममा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या रहेको भन्ने समाचारहरु पढ्दा म निकै भावुक भएको छु ।’
 
स्वस्तिमाले प्राविधिकहरुको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग टेलिफोनमार्फत् प्राविधिकहरुको अवस्थाबारे बुझ्दा तीन सयमध्ये सय जनाको अवस्था अत्यन्त दयनीय रहेको जानकारी पाएपछि आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई प्राविधिकको सहयोगका लागि आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छन् । 
 
‘सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया-खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ उनले भनेकी छन् ।
 
लकडाउनको समयसम्म सजिलो बनाउन सके प्राविधिकहरुका लागि ठूलो राहत हुने उनले बताएकी छन् । स्वस्तिमाले यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागे पनि सक्नेले सहयोग गर्न आग्रह गरेकी छन् । उनले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन् । 
Most Visited News (monthly)