Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संक्रमण मुक्त भएपछि मदनकृष्ण लेख्छन्, ‘कोरोनाले नराम्रैसँग पछार्‍यो’

फिल्मीखबर, काठमाण्डौ, 2021/06/01
 
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण मुक्त भएका छन् । दोस्रो पटक १४ दिन लामो अस्पतालमा उपचारपछि एक हप्ता अगाडि घर फर्किएका उनले सोमवार पीसिआर परीक्षण गराएका थिए । जसको रिपोर्ट नेगेटिभ आएको उनले मंगलवार फेसबुकमार्फत् जानकारी दिएका हुन् । सबैको आर्शिवाद र मायाको बलले कोरोना जित्न सफल भएको उनले बताएका छन् । 
 
मदनकृष्णले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्‍यो । पछार्‍यो मात्र हैन अझ लछार्‍यो र हस्पिटलमा लगेर बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि । बलियो रहेछ बजिया । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आर्शिवादले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’ उनले शरीरमा अलिअलि शिथिलता बाँकी नै रहेको बताएका छन् ।
 
पहिलो पटक ८ दिन अस्पतालमा उपचारपछि घर फर्किएका उनी त्यसको केही दिनमै अक्सिजनको लेभल कम भएपछि पुनः मेडिसिटी हस्पिटलमा भर्ना भएका थिए । चिकित्सकले अब आफ्नो शरीर एन्टिबडी बनिसकेको र कसैको शरीरमा पनि कोरोना नसर्ने बताएको उनले उल्लेख गरेका छन् । रिपोर्ट नेगेटिभ आए पनि शरीरमा अझै केही पोजेटिभ बाँकी रहेको उनी बताउँछन् ।
 
उनले ठट्यौली शैलीमा अगाडि लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद । यहाँहरु जस्तो मलाई औधी माया गर्नुहुने लाखौँ लाख शुभेक्षकहरु मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।’
 
अहिले देशको सबैभन्दा ठूलो समस्या कोरोना रहेकाले सरकारले पहिलो प्राथमिकता दिएर जति सक्दो चाँडो कोरोना भाइरसको खोप लगाएर जनताको ज्यान बचाउन उनले सुझाएका छन् । जनता नै नरहे कसलाई शासन गर्ने भन्दै उनले यस विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । गत बैशाखमा ७१ वर्ष प्रवेश गरेका मदनकृष्ण श्रेष्ठ अहिले पनि अभिनयमा सक्रिय छन् ।
 

Most Visited News (monthly)