
फिल्म ‘कृ’ मा काम गरेपछि झन्डै तीन वर्ष हराएकी अभिनेत्री अदिती बुढाथोकीले होम प्रोडक्सनको फिल्म ‘बाबरी’ बाट अभिनयमा पुनरागमन गरेकी छन् । निषेधाज्ञाभन्दा अगाडि फिल्मको पूर्वको लेटाङमा छायांकन भइरहेको थियो । अब फिल्मको नेपालमा एउटा मात्र गीत खिच्न बाँकी छ । बाँकी छायांकन भने भारतसँगको नाका खुलेपछि सिक्किममा गर्ने तयारीमा निर्माण टिम छ ।
सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अदितीले अभिनेता धिरज मगरसँग रोमान्स गरेकी छन् । पहिला फिल्ममा गायक नितेशजंग कुँवर लिड रोलमा अनुबन्ध भएका थिए । तर, छायांकनमा निस्कने समयमा उनले पारिवारिक कारण देखाउँदै फिल्म छाडेपछि धिरज भित्रिएका हुन् । नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि फिल्ममा मुख्य भूमिका छ ।
पहिलो पटक फिल्ममा अदिती र धिरजको जोडी बाँधिएको हो । यसकारण पनि यो फिल्मप्रति दर्शकको चासो बढी नै छ । डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै धिरजले युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका छन् भने अदितीको पनि फ्यान फलोइंग जबरजस्त छ । फिल्ममा काम गर्ने क्रममा एकअर्कासँग निकै घुलमिल भएका उनीहरु पुनः सुटिङ सेट ज्वाइन गर्न आतुर देखिएका छन् ।
.jpg)
यसैक्रममा आइतवार अदितीलाई एक प्रशंसकले इन्स्टाग्राममा धिरज व्यक्तिगत, को-एक्टर र कलाकारको रुपमा कस्तो लाग्छ भनेर सोधेको प्रश्नमा उनले धिरजको खुलेरै प्रशंसा गरिन् । जवाफमा उनी लेख्छिन्, ‘धिरज प्रतिभाशाली र उदार अभिनेता हुन् । ऊ प्यारो र विनम्र छ । ऊसँग काम गर्न मज्जा आयो ।’ ‘बाबरी’ लाई अदितीकी आमा पुष्पा बुढाथोकीले निर्माण गरेकी हुन् ।

