
अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर भएको छ । बिहीवार (हिजो) अमेरिकाको टेक्सस राज्यको डलासमा सम्पन्न फिल्मको प्रिमियरमा उल्लेख्य संख्यामा नेपाली दर्शकको उपस्थिति रहेको थियो । प्रिमियर शोमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको निर्देशक तथा लेखक सुमन पौडेलले बताए ।
ड्रग्स र अपराधको कथामा निर्माण भएको फिल्ममा प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ मख्य भूमिकामा छन् भने गौरव गुरुङ, स्वामी डिजे लगायत अमेरिकन कलाकारहरुले पनि अभिनय छ । निर्देशक पौडेलका अनुसार, फिल्मलाई नेपाली तथा अंग्रेजी भाषामा निर्माण गरिएको हो । स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि फिल्मलाई नेपालमा रिलिज गरिने उनले बताए ।
चितवन निवासी निर्देशक पौडेल केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् । दर्शकका लागि केही नयाँ उद्देश्यले फिल्म निर्माण गरेको अभिनेता पन्त बताउँछन् । उनी अध्ययनको शिलशिलामा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसद्वारा निर्मित फिल्मलाई साजन कार्कीले सम्पादन गरेका हुन् ।

