
कोरोना भाइरसका कारण फिल्म सम्बन्धि सम्पूर्ण गतिविधि ठप्प हुँदा समस्यामा परेका फिल्म प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसै क्रममा अभिनेत्री करिश्मा मानन्धरले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन् । उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन् ।
नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा प्राविधिकलाई राहत वितरण गर्दै उनले प्राविधिकहरु फिल्मकर्मीको घरको सदस्य भएकाले सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् । करिश्माले भनेकी छन्, ‘कोरोना महामारीको समयमा हामी सबैले हातेमालो गर्न जरुरी छ । प्राविधिकहरु हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सक्छौँ, त्यति सहयोग गर्न आग्रह गर्छु ।’
प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरु सबैभन्दा बढी मार्कामा परेकाले सहयोगका लागि अपिल गरेका छन् । कोरोनाले प्राविधिकहरु समस्यामा परेको खबर बाहिरिएसँगै देश तथा विदेशमा बस्ने फिल्मकर्मीबाट सहयोग जुटिरहेको छ । जीवन लुईटेल, राजबल्लभ कोइराला, गणेश प्रसाईं लगायतले प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् ।

