Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इनासले अस्पताललाई गर्‍यो ५० थान अक्सिजन सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/25
 
कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजन ग्यासको अभाव चर्किंदै गएको छ । अक्सिजन र बेडको अभावमा कति अस्पतालहरुले कोरोनाका बिरामी भर्ना नै गर्न छाडेका छन् भने अक्सिजन अभावमा कति कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा फिल्म सम्बद्ध संघ-संस्थाहरुले अक्सिजन जुटाउन सहयोगी हात अगाडि बढाएका छन् । 
 
यसैक्रममा, विश्वभर संगठन विस्तार गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ । विश्वभरका इनासका समितिहरुबाट प्राप्त रकमबाट ५० थान अक्सिजन रिफिल गरी मंगलवार काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरिएको इनासका नेपाल संयोजक तथा गीतकार दयाराम पाण्डेले जानकारी दिए ।
 
रवि लामिछानेको समुहले जनमैत्री अस्पतालसँग सहकार्य गरेर कम खर्चमा कोरोनाका बिरामीको उपचार गर्दै आएको छ । सोही अस्पतालमा उपचारार्थ कोरोना संक्रमितका लागि इनासले अक्सिजन सहयोग गरेको हो । इनासका ग्लोबल अध्यक्ष कमला दाहालको नेतृत्वमा अस्पतालमा उपचारार्थ असाह्यका लागि अक्सिजन सहयोग गरिएको इनासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
 
अस्पताललाई अक्सिजन हस्तान्तरणपछि अध्यक्ष दाहालले सानो सहयोगले कोरोनाका बिरामीको ज्यान बच्छ भने त्यस्तो सत्कर्ममा इनास सधैं क्रियाशिल हुने बताइन् । उनले यो सहयोग सुरुवात मात्र भएको भन्दै आगामी दिनमा अपांगता भएका व्यक्तिहरु, दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य अस्पतालमा समेत बुझेर सहयोगको क्रमलाई निरन्तरता दिने आश्वासन दिएकी छन् ।
Most Visited News (monthly)