एक समय लभस्टोरी फिल्ममा अभिनेता राजबल्लभ कोइरालाको राम्रो माग थियो । फिल्म ‘पर्खी बसेँ’ बाट लिड हिरोको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा ‘मसान, छोडी गए पाप लाग्ला’ जस्ता सम्झनलायक फिल्ममा काम गरेका छन् । तर, एक दशकयता उनलाई दर्शकले ठूलो पर्दामा हेर्न पाएका छैनन् । उनी लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।
एक सन्तानका पिता भइसकेका उनलाई अभिनयमा फर्किने इच्छा नभएको भने होइन । छोरीको जन्म भएपछि उनी केही महिना नेपाल बसेर फिल्ममा काम गर्ने योजनामा थिए । तर, त्यसै बेला पहिलो चरणको कोरोना महामारी सुरु भएपछि फिल्ममा कमब्याक गर्ने उनको सपना पूरा हुन सकेन । तर, राजबल्लभले ढिलो चाँडो आफू अभिनयमा फर्किने विश्वास दिलाएका छन् ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘म ढिलो चाँडो फिल्ममा आवश्य आउँछु । तर, कहिले आउँछु भन्ने मिति थाहा छैन । काम देखाउने व्यग्रता भए पनि जसले फिल्ममा लगानी गर्छ, उसको पसिनाको मुल्य पनि हुनुपर्यो नी ! कि त आफैंले लगानी गर्नुपर्यो, त्यसका लागि पनि लोट्री नै पर्नुपर्छ ।’ कसैलाई झुटो आश्वासन दिएर फिल्ममा काम गर्ने सोचमा आफू नरहेको उनको भनाई छ ।
फिल्म निर्माण जोखिमपूर्ण व्यवसाय रहेको र निर्माताको पीडा देख्दा आफूलाई अमिलो हुने गरेको राजबल्लभ सुनाउँछन् । फिल्मले लगानी उठाउन नसक्दा आफूले पारिश्रमिक समेत छाडेको उनले स्मरण गरे । तर, पछिल्लो समय नेपाली कलाकारहरुले महंगो पारिश्रमिक डिमान्ड गरेको सुन्दा उनी छक्कै पर्छन् । कलाकारलाई नेपाली फिल्मको बजार र दर्शक हेर्न उनको आग्रह छ ।
उनी अगाडि भन्छन्, ‘संसारभर छरिएका नेपालीसम्म नेपाली फिल्म पुग्न सकेको भए हामी पारिश्रमिक डिमान्ड गर्न लायक हुन्थ्यौं । तर, हामी कहिँ पुग्न सकेका छैनौं । पारिश्रमिक तिरे बराबर आम्दानी नै हुँदैन भने महंगो पारिश्रमिक डिमान्ड गर्नुको अर्थ छैन । निर्माता र आफूलाई मर्का नपर्ने गरी पारिश्रमिक लिनुपर्छ । कलाकारले डिमान्ड गरेको पारिश्रमिक सुनेर म आफैं पनि दंग पर्छु ।’
आफूले जीवनमा तीन लाखभन्दा बढी पारिश्रमिक नपाएको राजबल्लभ बताउँछन् । कथावस्तु राम्रो लाग्दा डेढ लाखसम्म पनि काम गरेको उनले बताए । निर्माताको लगानी नडुब्ने गरी पारिश्रमिक डिमान्ड गर्न उनको कलाकारलाई सुझाव छ । कोरोनाका कारण अहिले फिल्म निर्माण र प्रदर्शन गर्न सजिलो नभएकाले अब फिल्म रिलिजका लागि विकल्प खोज्नुपर्नेमा उनले जोड दिएका छन् ।
राजबल्लभ कोइरालासँग गरिएको कुराकानी हेर्नुहोस् :-

