.jpg)
देश यतिबेला कोरोनाका कारण आक्रान्त छ । दिनहुँ सयौंले ज्यान गुमाएका छन् । संक्रमण दर उकालो लाग्दो छ । अस्पतालमा अक्सिजनको हाहाकार छ । यो समयमा राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा जानु पर्नेमा सत्ता हत्याउने र जोगाउने पुरानै खेलमा अल्झिएको छ । जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा भएको छ ।
अभिनेत्री रेखा थापाले मानवजाती र महामारीबीचको लडाईंमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप चल्नु दुखद रहेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘नागरिकको जीवन रक्षा गर्न सबै दलले भोट र विश्वाश पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन र अर्को सरकार वा चुनाव भए पनि जमिनी यथार्थ फेरिँदैन ।’
राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं निरीह रैति भएर बस्नु पर्ने उनको तर्क छ । राप्रपा नेतृ समेत रहेकी थापाले अगाडि लेखेकी छन्, ‘यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु गुनासो र गाली गर्ने चौतारो हुन् ?’
लासहरुले पनि हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने उल्लेख गर्दै उनी अगाडि लेख्छिन्, ‘यी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरुले आफ्नो पालामा के-के गरे ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को-को जिम्मेवार छन् ? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनु पर्छ । जनताले आफ्नो धैर्यताको सिमा तोड्ने बेला आएन र ?’

