.jpg)
निर्देशक मिलन चाम्सले भारतीय सिनेमा हलमा प्रदर्शन गर्ने उद्देश्यसहित २ वर्ष अगाडि फिल्म ‘वीर विक्रम २’ को हिन्दीमा डबिङ गरेका थिए । फिल्म प्रदर्शनका लागि उनले केही वितरक कम्पनीसँग छलफल पनि गरे । तर, कोरोनाको पहिलो लहर सुरु भएसँगै फिल्म प्रदर्शन हुन पाएन । अबको एक महिनाभित्र फिल्मलाई यूट्युब च्यानलमा रिलिज गर्ने तयारीमा निर्देशक चाम्स रहेका छन् ।
नेपाली फिल्मको भारतमा बजार खोज्ने उद्येश्य बोकेर ‘वीर विक्रम २’ को हिन्दी डब गरेको मिलनले बताएका छन् । ‘पैसा कमाउन हामीले फिल्मको हिन्दी डब गरेका होइनौं । नेपाली फिल्मको बजार खोज्न र भारतीय दर्शकलाई नेपाली फिल्मको बानी बसाल्न हिन्दी डब गरेका थियौं । कोरोनाले सिनेमा हलमा फिल्म रिलिज गर्न नपाए पनि अब चाँडै यूट्युबमा रिलिज गर्छौं,’ उनले भने ।
फिल्मको हिन्दी डब एकदमै राम्रो भएको र दर्शकलाई देखाउन आफू आतुर रहेको उनको भनाई छ । नेपाली कलाकारहरुले कोशिश गरे भारतीय वा अन्य भाषाका फिल्ममा जाने सम्भावना पनि बलियो रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘कोशिश गरे असम्भव भन्ने केही छैन । विदेशी फिल्ममा नेपाली कलाकारको सम्भावना बढाउन पनि मैले फिल्मको हिन्दी डबिङ गरेको हुँ ।’
उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर २’ लाई हिन्दीसहित विभिन्न चार भाषामा डबिङ गराउने योजनामा छन् । त्यस्तै, अभिनेत्री साम्राज्ञी आरएल शाहसँगको फिल्म पनि हिन्दीमा डब गरिने उनले बताए । यसको उद्देश्य अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको बजार खोज्नुका साथै विदेशी मेकरको नजरमा नेपाली कलाकारहरु पर्न सफल हुन्छन् कि भन्ने रहेको निर्देशक चाम्सको भनाई छ ।
निर्देशक मिलन चाम्ससँग गरिएको अन्तर्वार्ता हेर्नुहोस् :-

