Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अस्पतालको शैयाबाट निर्देशक लामिछाने लेख्छन्, ‘पूरा जीवन दुखेको छ’

फिल्मीखबर, काठमाडौं, 2021/05/18
 
निर्देशक ऋषि लामिछानेसहित उनकी श्रीमती र छोरी कोरोना संक्रमणसँग लडिरहेका छन् । कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिएको छ ।
 
चार दिनदेखि अस्पतालमा उपचारार्थ लामिछानेले मंगलवार आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । अस्पतालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरिर, मन र मुटु मात्र हुन्छ, यहाँ त सपना पनि, विपना पनि, कल्पना पनि सबै दुख्दो रैछ । पूरा जीवन दुखेको छ ।’
 
कोभिडको खोप लगाएर स्वास्थ्य लाभ गरिरहेका उनी अगाडि लेख्छन्, ‘अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी हस्पिटलको नबौं तल्लाबाट बाहिर हेर्दै चिच्याएर कराउन मन लागेको छ । बिहानै हेरचाह गर्ने बहिनीले भनिन् पल्लो कोठामा कोरोनासँग लड्दै गरेका एकजना दाईले भन्नुभयो रे- कहिले काहिँ मृत्युभन्दा जीवन असहज लाग्दो रैछ ।’ 
 
उनको स्टाटसमा फिल्मकर्मीहरुले मनोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म निर्देशन गरेका छन् । पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्देशन गरेका छैनन् ।
 

Most Visited News (monthly)