.jpg)
सतर्कता र सावधानी नअपनाउँदा कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको छ । यद्यपि, केही दिनयता कोरोनाबाट निको हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । कोरोना नियन्त्रणमा निषेधाज्ञाले पनि धेरै हदसम्म काम गरेको देखिन्छ । यतिबेला देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् भने अक्सिजन ग्यासको हाहाकार छ ।
दिनमै ९ हजारभन्दा बढीमा कोरोना पुष्टि हुँदा नेपाली फिल्मकर्मीहरु पनि यसको चपेटामा परेका छन् । निर्देशक चेतन कार्कीको कोरोनाकै कारण आइतवार निधन भयो । मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, ऋषि लामिछाने दाम्पति, वर्षा राउत लगायत कोरोनासँग लडिरहेका छन् । कोही होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् भने कोही अस्पतालमा उपचारार्थ छन् ।
कोरोना पुष्टिपछि होम आइसोलेसनमा रहेकी अभिनेत्री वर्षा राउतले आइतवारबाट आफ्नो गन्ध र स्वाद फर्किएको बताएकी छन् । कोभिड भएपछि केही डर लागेको भए पनि आफ्नो स्वास्थ्यमा कुनै गम्भीर समस्या नदेखिएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । दोस्रो पटक पीसीआर परीक्षण गर्ने तयारीमा रहेकी उनले कोरोनालाई जित्न मनोबल उच्च बनाउन आग्रह गरेकी छन् ।
उनले आफ्नै लापरवाहीले कोरोना लागेको पनि स्वीकार गरेकी छन् । उनले भनेकी छन्, ‘बाहिरतिर हिँडेकै कारण मलाई कोरोना लागेको हो । म केयरलेस भएको थिएँ । यद्यपि, कोरोना पोजेटिभ देखिएपनि त्यस्तो डरलाग्दो लक्षण देखिएन । अक्सिजन लेभर, पल्स रेट सबै नर्मल थियो । रुघाखोकी लागे पनि शरीर दुख्ने, ज्वरो आउने केही भएन । यसमानेमा आफूलाई भाग्यमानी ठान्छु ।’

