Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

५० थान अक्सिजन सिलिन्डर किन्न पुष्पको सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/16
कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् ।
 
यसैक्रममा, अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न उनले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण समस्यामा रहेका अन्य व्यक्तिलाई पनि आफूले सहयोग गर्ने उनले बताए ।
 
 
‘आज म जहाँ छु, त्यो दर्शककै कारण छु । आज उनै दर्शकलाई गाह्रो हुँदा म मौन बस्नु हुँदैन भनेर सहयोगी हात अगाडि बढाएको हुँ । कोरोनाका कारण धेरैलाई विहान बेलुका हातमुख जोर्न पनि समस्या भएको छ । उहाँहरुलाई पनि सहयोग गर्ने सोचमा छु,’ उनले भने, ‘यो महामारी हामी सबै मिलेर लड्नु पर्छ । यतिबेला सरकारको मुख हेर्ने भन्दा पनि हामी सबैले सकेको सहयोग गरौं ।’
 
छिमेकी मुलुक भारतमा कोरोनाविरुद्ध लड्न बलिउड कलाकारहरुले अक्सिजन, भेन्टिलेटर लगायतका सामाग्री खरिदका लागि विश्वभर आर्थिक संकलनको अभियान नै चलाएका छन् । नेपाली कलाकारहरु भने यसप्रकार अभियान चलाउन एकजुट हुन सकेका छैनन् । फिल्म सम्बद्ध संघ संस्थाहरुले यस्तो अभियान अगाडि बढाएर कलाकारहरुलाई तताउनु पर्ने पुष्पको भनाई छ ।
 
उनी अगाडि भन्छन्, ‘हाम्रो फिल्म इन्डस्ट्री सानो भए पनि कलाकार संघ लगायत धेरै संघ-संस्था छ । कोरोना महामारीको यस्तो परिस्थितिमा ती सबै संस्थाहरुले अभियान अगाडि बढाएर हामीहरुलाई तताउनु पर्छ । यो भएको छैन भने पनि हामीले गर्न सक्ने सहयोग गर्नुपर्छ ।’ उनले यसअघि पनि आफ्नो गृहजिल्ला कैलालीको एक बालआश्रममा नगद र खाद्यन्न सहयोग गरेका थिए ।
Most Visited News (monthly)