नेपालमा भारतीय फिल्मको बलियो पकड छ । एकाधबाहेक नेपालमा प्रदर्शन हुने हिन्दी फिल्मले राम्रो कमाई गर्ने गरेका छन् । बलिउडका तीन खानका फिल्म रिलिज हुँदा त सिनेमा हललाई दशैं नै लाग्छ । नेपालका मल्टीप्लेक्स हलहरु बलिउड फिल्मकै भरमा चलेका छन् भन्दा फरक पर्दैन । नेपाली दर्शकको पहिलो रोजाई अझै नेपाली फिल्म बन्न नसकेको यथार्थ नकार्न सकिन्न ।

भारतीय फिल्मले नेपालमा आफ्नो एकाधिकार कायम गर्दा नेपाली फिल्म भने घरेलु बजारमै सीमित हुनु परेको छ । केही नेपाली निर्माताले भारतका सिनेमा हलमा फिल्म प्रदर्शन गर्ने प्रयास नगरेका होइनन् । तर, सफल हुन सकेनन् । यतिबेला निर्माता सन्तोष सेन फिल्म ‘प्रेमगीत ३’ लाई भारतका सिनेमा हलमा नै प्रदर्शन गर्न मुम्बईमा फिल्मको डबिङ लगायतको काम गरिरहेका छन् ।
निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरेका थिए । तर, कोरोना भाइरसका कारण बन्द भएका भारतका सिनेमा हल खुल्ने अनिश्चित भएपछि उनले अब भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने भएका छन् । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सले बताए ।
उनले भने, ‘हामीले सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाले भारतका सिनेमा हल अनिश्चितकालका लागि बन्द भएका छन् । अब यूट्युबमै फिल्म रिलिज गर्दैछौं । फिल्मको हिन्दी डब निकै राम्रो भएको छ ।’ उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।
साउथ फिल्मको हिन्दी डबिङ गर्ने कलाकारहरुले ‘वीर विक्रम २’ मा भ्वाइस ओभर गरेको निर्देशक चाम्सले बताए । यो फिल्म नेपालका सिनेमा हलसँगै यूट्युबमा सार्वजनिक भइसकेको छ । बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ । नाजिर हुसेन, बुद्दि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

