कोभिडको दोस्रो लहरले नेपाल आक्रान्त छ । दिनहुँ संक्रमितको संख्या १० हजार पुग्न थालेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ । देशभरका अस्पताल यतिबेला कोरोनाका बिरामीले भरिएका छन् । कति अस्पतालले नयाँ बिरामी लिनै छाडिसके । अर्कोतिर अक्सिजनको पनि अभाव हुन थालेको छ । कोरोनाका बिरामीले अक्सिजन नपाएकै कारण ज्यान गुमाउनु परेको छ ।

यस्तो भयावह अवस्थामा देश र जनताको मुहार फेर्ने कसम खाएका नेताहरु भने भागबन्डा र कुर्सीका लागि तछाडमछाड गरिरहेको दखिन्छ । यो समयमा सरकार र राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा जानु पर्नेमा सत्ता हत्याउने र गिराउने खेलमा अल्झिँदा सर्वहारा जनता रोगका साथै रोजगारी गुमेर भोकले मर्नुपर्ने अवस्था सृजना भएको छ ।
हास्य कलाकार जीतु नेपालले महामारीको समयमा जनता अक्सिजन नपाएर अस्पतालमा छट्पटिरहेको अवस्थामा नेताहरुलाई भने भागबन्डा र कुर्सी चाहिएको भन्दै आक्रोश पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै जनतालाई अस्पतालमा बेड, अक्सिजन, उपचार, राहत र हौसला चाहिएको बेला सरकारलाई तारिफ, गुनगान र चाकडी चाहिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेताहरुलाई सहमति चाहिएको छ, कुर्सी चाहिएको छ, भागबन्डा चाहिएको छ । यस्तो विपतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडी, तानातान, तछाड मछाड छ । सहमती भन्या छ, करोडौंको गाडिमा अगाडि पछाडि सुरक्षाको लर्को लिएर हिँड्या छ, घरघर पुग्या छ, बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ, अब मेरो पालो भन्या छ ।’
.jpg)
उनी नेतालाई प्रश्न गर्दै अगाडि लेख्छन्, ‘सबैलाई मेरो एउटा प्रश्न- देशमा यति विपत परेको बेला यस्ता बेहोरा देखाउँदा भोली जनताले जिताउलान् भन्ने छ ?’ उनको स्टाटसमा धेरैले सरकार र नेताको आलोचना गरेका छन् । निषेधाज्ञापछि ‘मुन्द्रेको कमेडी क्लब’ अनिश्चिलकालका लागि रोकेर घरमै बसेका जीतुले समसामयिक विषयमा व्यंग्यात्मक र सटिक टिप्पणी गर्दै आएका छन् ।

