Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा ‘राधे’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2021/05/13
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले भीडभाड हुने सिनेमा हलसहित विभिन्न क्षेत्रलाई अनिश्चितकालसम्मका लागि बन्द गरेको छ । जसले गर्दा दर्शकले ठूलो पर्दामा फिल्म हेरेर आनन्द उठाउन पाएका छैनन् । यो समयमा घरमै बसेर यूट्युब, टिभी तथा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ । यद्यपि, यसको पहुँच सबै नेपालीसम्म पुग्न सकेको छैन । 
 
नेपालमा स्वदेशी फिल्मको भन्दा विदेशी फिल्मको बोलबाला बढी छ । स्थिति सामान्य हुँदा हलिउड तथा बलिउडका फिल्म हेर्न नेपालका सिनेमा हलमा दर्शकको ठूलो भीड लाग्थ्यो । सिनेमा हलले लाखौं छाप्थे । तर, कोरोनाका कारण सिनेमा हल बन्द हुँदा विदेशी फिल्महरु प्रदर्शन हुन पाएका छैनन् । जसको फाइदा नेपालमा केबल टिभी तथा ओटीटी प्लेटफर्मले उठाएका छन् ।
 
 
नेपालका हल सञ्चालकहरु लामो समयदेखि बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ को पखाईमा थिए । किनकि, नेपालमा सलमानका फिल्मले निकै राम्रो व्यापार गर्ने गरेका छन् । तर, कोरोना महामारी अन्त्य हुने छाँटकाँट नदेखिएपछि यो फिल्म बिहीवारबाट भारतसँगै नेपालका केबल टिभी तथा ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । 
 
गोपीकृष्ण मुभिजका निरज पौडेलको समूहले नेपाल ल्याएको ‘राधे’ ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा हेर्न पाइन्छ । फिल्म हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क राखेका छन् । सलमानले समेत एक भिडियोमार्फत् नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरेका छन् ।
 
सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । सेन्सर विना फिल्म प्रदर्शन गर्न पाइँदैन । तर, ‘राधे’ विना सेन्सर नै नेपालका डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सेन्सर विना फिल्म प्रदर्शन गर्नु गैरकानुनी भए पनि ओटीटी तथा केबलको नियमन तथा सेन्सरको काम बोर्डको कार्य क्षेत्रभित्र नपर्ने बताएका छन् । 
 
यस्ता प्रकृतिका च्यानल सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले गर्ने अध्यक्ष दाहालको भनाई छ । आफूले ‘राधे’ विना सेन्सर रिलिज भएको जानकारी मन्त्रालयलाई गराएको उनले बताए । यसअघि फिल्म ‘लक्ष्मीबम’ पनि विना सेन्सर नेपालका केबल टिभी तथा ओटीटीमा रिलिज भएको थियो । तर, यसतर्फ सञ्चार मन्त्रालयको ध्यान जान सकेको छैन । 
Most Visited News (monthly)