Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकाको सहारा बने अनुप

फिल्मीखबर, काठमाडौं, 2021/05/12
 
फिल्मको पर्दामा प्रायः भिलेनको भूमिका देखिने गरेका अभिनेता अनुपविक्रम शाहीले रियल लाइफमा भने हिरोको छवि बनाएका छन् । गत वर्ष कोरोनाका कारण जारी लकडाउनमा रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गरेका उनले धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा आश्रित बालबालिकालाई पनि सहयोग गर्दै आएका छन् ।
 
अघिल्लो वर्ष उनले आफ्नो जन्मदिन समेत सोही बालआश्रममा मनाएका थिए । सो अवसरमा उनले खाद्यन्नसँगै ६ थान ल्यापटप सहयोग गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि राहतको आशमा बसेका बालबालिकालाई अनुपले फेरि सहयोग गरेका छन् । आश्रमका ३२ जना बालबालिकालाई उनले मंगलवार डेढ महिनासम्म पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
 
गत वर्ष जन्मदिन मनाउने क्रममा आश्रममा रहेका बालबालिकाहरुको अभिभावक बन्ने प्रण गरेका कारण आफूले नियमित रुपमा बालबालिकाको निगरानी गर्दै आएको अनुप बताउँछन् । उनले गत वर्ष उक्त आश्रमलाई तीन-तीन महिनामा खाद्यन्न लगायतका सामाग्री सहयोग गर्ने वचन दिएका थिए । यो कठिन समयमा समस्या रहेका व्यक्तिहरुलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।
 
निषेधाज्ञा जारी हुनुभन्दा एक हप्ता अगाडि फिल्म ‘जार’ को छायांकन सकेर सिक्किमबाट नेपाल आएका उनी बैशाख अन्तिमबाट फिल्म ‘सत्यम्’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएकाले फिल्म छायांकनमा जान सकेन । यसमा उनले अभिनेता राजेश हमालसँग दोस्रो पटक स्क्रिन शेयर गर्दैछन् । फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् ।
Most Visited News (monthly)