कोभिड सुरु भएपछि विश्वमा ओटीटी प्लेटफर्म लोकप्रिय बनेको छ । सिनेमा हल बन्द हुँदा दर्शकले घरमै बसेर विश्वमा बनेका फिल्म हेरिरहेका छन् । मेकरहरुको पनि फिल्म रिलिजका लागि ओटीटीतर्फ आकर्षण बढ्दो छ । छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने सिनेमा हलका लागि बनेका कयौं फिल्म कोभिडपछि नेटफ्लिक्स, अमेजन लगायतका प्लेटफर्ममा रिलिज भए ।
तर, नेपाली फिल्मले ओटीटी प्लेटफर्मको फाउदा उठाउन सकेको छैन । विश्वका ठूला प्लेटफर्ममा फिल्म रिलिजको अवसर नपाउनु र नेपालमा सुरु भएका ओटीटी प्लेटफर्म प्रभावकारी नहुँदा निर्माताहरु सिनेमा हलकै भरमा बस्नुपर्ने अवस्था छ । निर्माता अर्जुन कुमार नेटफ्लिक्स, अमेजन जस्ता ओटीटी प्लेटफर्ममा नेपाली फिल्म जानु तत्काललाई दिवा सपना रहेको बताउँछन् ।
.jpg)
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को छलफल कार्यक्रममा उनले भने- ‘नेपालमा यूट्युबबाहेक डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने दर्शक एक प्रतिशत पनि छैनन् । प्रायःले विदेशमा बस्ने साथी-भाईले दिएको पासवर्डमा ओटीटी प्लेटफर्मबाट फिल्म हेर्ने गरेका छन् । जबसम्म सबै दर्शकको पहुँचमा पुग्दैन, तबसम्म ओटीटी प्लेटफर्मबाट करोडौं कमाउँछु भन्नु सिर्फ सपना मात्रै हो ।’
अबको २० वर्ष नेटफ्लिक्स, अमेजन जस्ता ओटीटी प्लेटफर्ममा नेपाली फिल्म रिलिज हुन्छ भनेर आफूले कल्पना पनि नगरेको उनले बताए । ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न नेपालमै सहज र सुलभ रुपमा ओटीटी प्लेटफर्मको विकास हुनुपर्ने उनको भनाई छ । ‘म ‘चपली हाइट ३’ को सम्पूर्ण राइट्स दिन तयार छु । मलाई नाफा चाहिएन । तर, के नेपालमा सुरु भएका ओटीटी प्लेटफर्मले फिल्ममा भएको खर्च मात्र पनि दिन तयार छन् ? अनि ओटीटीमा फिल्म रिलिजको सपना किन देख्नु ?’, उनले भने ।
निर्माता कुमार अहिलेको अवस्थामा नेपाली फिल्म रिलिजका लागि सिनेमा हलको विकल्प नभएको बताउँछन् । नेपाली दर्शकले फिल्म हेर्ने गरेको नभइ जबरजस्ती देखाइने गरेको पनि उनले बताए । ‘नेपाली फिल्म हेर्ने दर्शक कहाँ छन् ? दर्शकले फिल्म हेरेका होइनन्, जबरजस्ती देखाइएको हो । विदेशमा पनि जबरजस्ती टिकट भिडाएर फिल्म हेर्न लगाइन्छ,’ उनले तितो यथार्थ ओकले ।

