.jpg)
फिल्म ‘लिलिबिली’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी जसिता गुरुङ तीन वर्षदेखि पर्दामा देखिएकी छैनन् । दोस्रो फिल्म ‘लभ स्टेशन’ रिलिजपछि फिल्म ‘आई एम ट्वान्टी वान’ मा अनुबन्ध भएकी उनले केही समय अगाडि मात्र यो फिल्मको छायांकन सकाएकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । तर, फिल्म रिलिज भने अन्योलमा छ ।
नृत्यको कथामा निर्माण भएका कारण जसिताले फिल्मका लागि एक वर्ष नृत्यको तालिम समेत लिएकी थिइन् । अघिल्ला दुई फिल्मभन्दा फरक गेटअपमा देखिन लागेका कारण उनले छायांकन पूरा नहुँदासम्म आफ्ना नयाँ तस्विरहरु पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिनन् । उनी ‘आई एम ट्वान्टी वान’ लाई लिएर कति गम्भीर छिन् भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ ।
उनै, जसिताले लामो समयसम्म लुकाएर राखेको आफ्नो लुक्स रिभिल गरेकी छन् । उनले सोमवार इन्स्टाग्राममा एक तस्विर शेयर गर्दै लेखेकी छन्, ‘अन्ततः लामो समय लुकाएर राखेको लुक्स सार्वजनिक गरेकी छु । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’ उनले आफ्नो कपाल छोटो बनाएको तस्विरमा देख्न सकिन्छ । उनको यो लुक्स ‘आई एम ट्वान्टी वान’ को रहेको आँकलन गरिएको छ ।
जसिताले यो फिल्म निर्माण हुनुभन्दा अगावै अर्को फिल्म ‘एन्टी हिरो’ साइन गरेकी थिइन् । जसलाई निर्माता भुवन केसीले निर्माण गर्दैछन् । फिल्ममा उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिदैछ । तर, यो फिल्मको निर्माण कहिले हुन्छ टुंगो छैन । किनकि, यतिबेला भुवन केसी ‘पारस र माइतीघर २’ को तयारीमा छन् । यसरकाण ‘एन्टी हिरो’ को निर्माण अन्योलमा परेको छ ।

