.jpg)
निर्देशक तथा निर्माता अशोक शर्माले कोरोनाले फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेल्ने बताएका छन् । आइतवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘कोभिडपछिको फिल्म बजार’ शीर्षकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । कोरोनाले गर्दा दर्शकको हलमा गएर फिल्म हेर्ने बानी हराएका कारण फिल्म क्षेत्र पुरानो अवस्थामा फर्किन सहज नभएको उनको भनाई छ ।
उनी भन्छन्, ‘कोरोनाले नेपाली फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेल्छ । कोरोनाले सिनेमा हेर्ने दर्शकको बानीमा ब्रेक लागेको छ । स्थिति सामान्य भएर फिल्म प्रदर्शन हुन थाल्यो भने पनि केही समय दर्शक हलमा आउँदैनन् । सिनेमा हलमा दर्शक ल्याउनका लागि हामीले एकदमै ठूलो मिहिनेत गर्नुपर्छ ।’ कोरोनाले अरु क्षेत्रभन्दा फिल्म क्षेत्र सबैभन्दा बढी मारमा परेको उनले बताए ।
कोरोनाले निर्माण सकेर रिलिजको तयारीमा रहेका फिल्मका निर्माता बढी मारमा परेको उनको भनाई छ । कोरोनापछि सिनेमा हलको अवस्थाबारे उनले भने, ‘कोरोनाले सरभाइभ हुने अवस्था नभएपछि जय नेपाल हल सधैंका लागि बन्द भयो । कोभिडपछि देशभर २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् । यस्तै अवस्था रहे मल्टीप्लेक्सहरु पनि टिक्ने अवस्थामा छैन ।’
कोभिडपछि फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्मतर्फ आकर्षण बढ्दो छ । तर, निर्देशक शर्मा ओटीटी प्लेटफर्म सेकेन्डरी मार्केटका लागि मात्र ठिक हुने बताउँछन् । फिल्म थिएटरको कल्चर रहेको उनको भनाई छ । उनी भन्छन्, ‘ओटीटी प्लेटफर्ममा संसारभर एकसाथ फिल्म हेर्न पाइन्छ तर यो सेकेन्डरी मार्केट मात्र हुनसक्छ । पहिलो प्राथमिकताको मार्केट सिनेमा हल नै हो ।’

