Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वातावरण सहज नभएसम्म फिल्म बनाउँदिनँ : रेखा थापा

फिल्मीखबर, काठमाडौं, 2021/05/10
 
अभिनेत्री रेखा थापाले फिल्ममा काम नगरेको करीब तीन वर्ष भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । होम प्रोडक्सनभन्दा बाहिरको फिल्ममा काम नगर्ने अडानमा बसेकी उनी गत वर्ष नै नयाँ फिल्म निर्माणको तयारीमा थिइन् । फिल्ममा अभिनेता सौगात मल्लले पनि अभिनय गर्दै थिए । तर, कोरोनाका कारण देश लकडाउन भएपछि फिल्म बन्न सकेन ।
 
लकडाउन अन्त्य भएपछि रेखा यही बैशाख ७ गतेबाट छायांकनमा निस्कने तयारीमा थिइन् । तर, चैत अन्तिमबाट नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएकाले फेरि फिल्म निर्माणको काम अगाडि बढ्न सकेन । अब भने रेखाले वातावारण सहज नभएसम्म फिल्म नबनाउने भएकी छन् । अहिले दर्शकको प्राथमिकता फिल्मभन्दा गाँसबास र स्वास्थ्य रहेको उनको भनाई छ । 
 
आइतवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को छलफल कार्यक्रममा बोल्दै उनले भनिन्, ‘नेपाली फिल्म हेर्ने भनेको सबै कामकाजी व्यक्तिहरु नै हुन् । आर्थिक अवस्था कमजोर हुने व्यक्तिहरुले कोरोना महामारीका कारण धेरै कुरा गुमाउनु परेको छ । त्यसैले जबसम्म दर्शकको प्राथमिकतामा मनोरञ्जन पर्दैन तबसम्म फिल्म बनाउँदिनँ । मैले तत्कालाई प्रोजेक्ट नै ड्रप गरेको छु ।’
 
यो समयमा फिल्म रिलिजका लागि डिजिटल प्लेटफर्म वैकल्पिक साधन भए पनि तत्काल नेपालमा सम्भव नभएको उनको तर्क छ । उनी भन्छिन्, ‘डिजिटल प्लेटफर्म वैकल्पिक प्लेटफर्म हुनसक्छ तर सबैको पहुँचमा पुग्न पनि त सक्नु पर्‍यो ! डिजिटल प्लेटफर्म प्रयोग गर्न जान्नेहरुलाई सहज होला तर हाम्रा दर्शक अन्य ठाउँमा पनि छन् । मेरो मान्यता फिल्म सिनेमा हलमा नै लगाउनु पर्छ ।’
Most Visited News (monthly)