.jpg)
अभिनेत्री करिश्मा मानन्धरले फिल्ममा महिला कलाकारले पाउने पारिश्रमिकमा विभेद रहेको बताएकी छिन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकमा बोल्ने क्रममा उनले नायकको तुलनामा नायिकाले अत्यन्त कम पारिश्रमिक पाउने गरेको धारणा गरेकी हुन् । पारिश्रमिकमा विभेद हुनु दुःखद रहेको उनको भनाई छ ।
‘कामको मामलामा हामी पुरुष सरह आइसकेका छौं । तर, अझै नायकभन्दा नायिकाले पाउने पारिश्रमिक कम छ । केहीबाहेक बाँकीले पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा एकदमै कम पाउने गरेका छन् । यो अन्याय हो,’ उनले अगाडि भनिन्, ‘यदि महिलाले पुरुष सरह मिहिनेत गरेको छ भने उसको पनि पारिश्रमिक पुरुषको जतिकै हुनुपर्छ । सबैलाई समान नजरले हेर्नुपर्छ ।’
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पारिश्रमिकमा विभेद हुनुलाई पितृसत्ताक सोचको उपज मानिन्छन् । यो रोग फिल्म क्षेत्रसँगै अरु क्षेत्रमा रहेको बताउँदै उनको भनाई छ । उनी भन्छिन्, ‘पारिश्रमिकको सवालमा अहिले धेरै महिला कलाकारहरु बोलिरहेका हुन्छन् । नायिकाहरुले यति पारिश्रमिक लिए भनेर समाचार पनि आउँछन् । भलै, यो सबै नायिकाको हकमा लागू भएको छैन ।’
सम्पादक हुँदै फिल्म निर्देशक बनेकी रक्षा सिंह राणाले आफूले भने पारिश्रमिकको मामलामा विभेद सहनु नपरेको बताइन् । तर, फिल्म क्षेत्रमा महिला फिल्मकर्मीलाई दिइने पारिश्रमिकमा विभेद रहेको उनको कथन छ । छलफलको क्रममा करिश्माले नेपाली फिल्मको इतिहास पल्टाएर हेर्दा महिलाले भन्दा पुरुष निर्देशकले महिला कलाकारलाई राम्रोसित प्रस्तुत गरेका बताएकी छिन् ।

