(1).jpg)
गत वर्ष भारतको ‘कोलकाता फिल्म फेस्टिभल’ मा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’ मा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले सोही फेस्टिभलमा फिल्म प्रिमियर हुने जानकारी दिएका छन् । विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्ममध्येबाट ‘महानगर’ फेस्टिभलमा छनोट भएको हो ।
यो फेस्टिभलको २४औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ । फिल्मका निर्देशक मोहन राई हुन् । यसअघि उनले तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा ‘अञ्जली’ र छोटो फिल्म ‘सखी’ बनाएका थिए । ‘महानगर’ बाट उनले फिचर फिल्ममा डेब्यू गरेका हुन् । अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ ।
सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य कर्मा र मेनुकाको जीवनमा त्यही रातले ल्याउने परिवर्तनको कथामा फिल्म निर्माण भएको हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ । निर्देशक मोहन राई स्वयंको कथा लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली छन् ।
माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्को ब्यानरमा निर्मित यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ । ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन् । सन् २००९ मा ‘सारी सोल्जर्स’ र सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ यो फेस्टिभलमा छानिएको थियो ।

