
आम मानिसमा फिल्म स्टारको क्रेज गजबको देख्न पाइन्छ । केही व्यक्ति समाजमा आफ्नो ‘हाई स्टाटस’ देखाउन फिल्म स्टारलाई विवाह तथा विभिन्न पार्टीमा आकर्षक पारिश्रमिक दिएर बोलाउने गरेका छन् । नेपाली कलाकारको हकमा यो लागू नभए पनि बलिउडका स्टारलाई यस्ता प्रस्तावहरु बाक्लै आउँछन् । र, यस्ता कार्यक्रमबाट उनीहरुले ठूलो आम्दानी पनि गर्ने गरेका छन् ।
तर, के तपाईंहरुले कसैको निधनमा रुनका लागि फिल्म स्टारलाई बोलाएको सुन्न भएको छ ? पक्कै छैन । तर, ९० को दशकमा बलिउडमा आफ्नो दबदबा कायम गरेका अभिनेता चंकी पान्डेलाई एक बिजनेसम्यानको निधनमा रुनका लागि लाखौं रुपैयाँ अफर भएको थियो । केही वर्ष अगाडि एक बिजनेसम्यानको निधनमा रुन आफूलाई ५ लाख अफर भएको उनी स्वयंले खुलाएका हुन् ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘२००९ मा मुम्बईको मुलुन्ड इलाकामा बस्ने एक बिजनेसम्यानको घरबाट अजिबको अफर आयो, जुन सुनेर म निकै हैरान भएको थिएँ । बिजनेसम्यानको परिवारले मसँग शोक सभामा आएर रोइदिन आग्रह गरेका थिए । ताकि बिजनेसम्यानले जो-जोसँग पैसा उधारो लिएका थिए, तिनीहरुलाई यो लागोस् कि मेरो कुनै फिल्ममा उनले लगानी गरे ।’
चंकीले यो अफर नकारे पनि बिजनेसम्यानको परिवारको अवस्था देखेर उनले अर्को कलाकारलाई पठाएको बताएका छन् । तर, उनले ती कलाकारको नाम खुलाउन चाहेनन् । चंकीले १९८७ मा रिलिज भएको फिल्म ‘आग ही आग से’ बाट आफ्नो करिअर सुरुवात गरेका हुन् । यसमा धमेन्द्र र शत्रुघन सिन्हा पनि प्रमुख भूमिकामा थिए । उनको अभिनयको सधैं प्रशंसा हुने गरेको छ ।

